हिटलरसँग मोदीको तुलना: चिप्लिए निर्देशक - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

हिटलरसँग मोदीको तुलना: चिप्लिए निर्देशक



बीबीसी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको आइतबार नयाँ दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा बोलेको प्रसंगलाई लिएर हिटलरसँग जोडिएको एउटा पुरानो भिडियो अचानक भाइरल भयो ।

यो भिडियो शेयर गर्ने व्यक्ति थिए–फिल्म निर्देशक अनुराग कश्यप । भिडियोमा जर्मनीका तानाशाह एडोल्फ हिटलरले एक स्टेडियममा भाषण दिँदै गरेको देखिन्छ ।

तर, भिडियोको सवटाइटलमा लेखियो,‘‘यदि तपाईँ चाहनुहुन्छ भने मलाई घृणा गर्नुस् । तर, जर्मनीलाई होइन ।’’

हिटलरको सो भाषणलाई निर्देशकले मोदीको आइतबारको भाषणसँग तुलना गर्न खोजेका थिए ।

मोदीेले आइतबार रामलीला मैदानमा गरेको भाषणमा भनेका थिए,‘‘ मोदीलाई देशका जनताले यो पदमा राखेका हुन् । यदि यहाँहरुलाई मन परेन भने मोदीलाई गाली गर्नुस् । मोदीप्रति घृणा गर्नुस् । मोदीको जति विरोध गर्नुछ गर्नुस् ।

तपाईँलाई मोदीप्रति घृणा छ भने रिस जति निकाल्नुछ निकाल्नुस् । अनि मोदीको पुतला बनाएर आउने जाने जति छन् सबैले जुत्ताले हिर्काउँदा हुन्छ । मोदीको पुतला जलाउनुछ भने जलाउनुस् । तर, देशको सम्पत्ति नजलाउनुस् । गरिबका अटो रिक्सा र झोपडी नजलाउनुस् । तपाईँको जति रिस छ त्यो मोदीप्रति निकाल्नुस् ।’’

निर्देशक कश्यपले सोमबार सो भिडियो शेयर गरेलगत्तै पाँच हजार भन्दा बढीले रिट्विट गरेका थिए ।

त्यस्तै, १३ हजार भन्दा बढीले त्यसलाई लाइक गरे । भिडियो सार्वजनिक गरिएको केही समयमा एक जना जर्मन महिलाले भिडियोको सामग्रीमाथि प्रश्न उठाइन् ।

जर्मनीको हैम्वर्ग युनिभर्सिटीमा मनोविज्ञान विषय पढाउने मारिया रिथले ट्विटको रिप्लाई गर्दै लेखिन्,‘‘यो बिलकुलै गलत अनुवाद छ ।

के तपाईँसँग त्यस्तो मान्छे कोही छैन जो जर्मन भाषा जानेको होस् । यो भाषणमा सर्वसाधारणसमक्ष गएर सकेसम्म मद्धत गर्न भनिएको छ ।’’

यो भिडियो र त्यसमा लेखिएको सबटाइटलमा प्रश्न उठेपछि अनुराग कश्यपले भिडियो नै डिलिट गरे ।

वास्तविकता के हो ?

बीबीसीले यसबारेमा हिटलरको पुरै भाषण खोज्यो । सो भाषण १९३६ मा गरेको पत्ता लाग्यो ।

दिल्ली युनिभर्सिटीमा जर्मन भाषा विभागका सिनियर लेक्चरर ज्योति सभरवालले बीबीसी हिन्दीसँगको कुराकानीमा सो भिडियोमा भएको वास्तविकताबारे जानकारी गराइन् ।

उनले भनिन्,‘‘यो बिलकुल गलत अनुवाद हो । किनकि यसमा हिटलरले यस्तो केही कुरा गरेका छैनन् । उनले यसमा अरुलाई मद्धत गर्न आग्रह गरिरहेका छन् ।’’

त्यसपछि यो भाषणको ऐतिहासिक महत्वको बारेमा जानकारी लिन बीबीसीले वरिष्ठ जर्मन पत्रकार अनवर अशरफसँग कुरा ग¥यो ।

अनवर अशरफले ज्योति सभरवालको भनाइमा सहमति जनाउँदै सो भाषणमा हिटलरले एक अर्कालाई सहयोग गर्न अपील गरेको जनाए ।

उनी भन्छन्, ‘‘यो सही हो कि यो भिडियोमा गरिएको अनुवाद र उनको भाषणमा कुनै सम्बन्ध छैन । मोदीको भाषणमा त झनै कुनै सम्बन्ध छैन । तर, यो भाषणलाई संझिनको लागि हामीलाई यो भाषणको ऐतिहासिक पृष्ठभूमि सम्झिन जरुरी हुन्छ ।’’

‘‘यो भाषणमा घृणा वा प्रेमको कुरा गरिएको छैन । यो भाषणमा हिटलरले भाइचाराको कुरा गरेका छन् । उनी भनिरहेका छन्कि जर्मनवासीले कसरी एक अर्कालाई सहयोग गर्ने र पूर्वाग्रह त्यागेर एक अर्कालाई मद्धत गर्ने कुरा गरेका थिए,’’ जर्मन पत्रकारले भने ।

जर्मनीमा जाडोको मौसममा तापमान निकै तल जाने गरेको र गरिबीमा रहेकालाई यो ज्यान लिने खालको हुने गरेको बताउँदै ती पत्रकारले भने,‘‘यस्तोमा हिटलरले आफ्नो भाषणमा आफ्नो पार्टीको एक च्यारिटी संस्था ‘विन्टर हिल्सबर्ग’लाई सहयोग गर्न आग्रह गरेका थिए ।

यो भाषणमा हिटलरले चिसोको समयमा कुनै जर्मनवासीलाई कोइला वा कम्बलको कमी नहोस् भनेर धनाढ्य बर्गलाई अघि सरेर मद्धत गर्न भनिरहेका छन् ।’’