मोदीको भ्रमण तालिका बनाउन परराष्ट्र मन्त्रालयलाई हम्मे हम्मे - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

मोदीको भ्रमण तालिका बनाउन परराष्ट्र मन्त्रालयलाई हम्मे हम्मे



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ।

मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप दिन नसक्दा तिथि सार्वजनिक गर्न ढिलाइ भएको हो । वैशाख २८ मा नेपाल भ्रमणमा आउन लागेका मोदी २९ अपराहन नै फर्कने कार्यक्रम छ।

यसबीच उनले उच्चस्तरका राजनीतिक भेटघाटका अलावा दुई स्थानमा नागरिक अभिनन्दन र सम्बोधन, अरुण तेस्रो जलविद्युत् तथा काभ्रेको पनौतीमा भारतीय सहयोगमा बन्ने प्रहरी प्रतिष्ठान शिलान्यास गर्ने कार्यक्रम रहेको खबर आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्। भूकम्पपछि भारतीय सहयोगमा बन्दै गरेको पुरातात्विक क्षेत्र जनकपुरमा पूजाअर्चना, दूतावासमा दिवाभोजसहित सम्मान, गार्ड अफ अनर, राष्ट्रपतिको दिवा भोजलगायतका सबै कार्यतालिका मिलाउन समय अपुग भएको यसमा संलग्न अधिकारी बताउँछन्।

प्रहरी एकेडेमी र अरुण तेस्रो जलविद्युत् परियोजना संयुक्त पत्रकार सम्मेलनमा नै स्विच थिचेर गर्ने कि भन्नेमा समेत छलफल भइरहेको छ । मुक्तिनाथ यात्रा भने मौसमका कारण यसपटक पनि थाती रहन सक्ने अधिकारीहरूले बताए । भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग ४ वर्षअघि नै सम्झौता गरे पनि औपचारिक शिलान्यास नभएकाले सकारात्मक सन्देशका लागि मोदी स्वयंले शिलान्यास गर्ने कार्यक्रम छ ।मोदीको भ्रमण तिथि औपचारिक रूपमा सार्वजनिक भएको छैन । तयारी भने तीव्र रूपमा अघि बढेको परराष्ट्र अधिकारीले बताए।

मोदीको दुईदिने राजकीय भ्रमणलाई नेपालले तीनदिने बनाउन वैशाख २७ मै आउन आग्रह गरे पनि भारतीय पक्षबाट सकारात्मक जवाफ नआएपछि व्यवस्थापन थालिएको अधिकारीहरूले बताए । प्रधानमन्त्री नियुक्त भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । परराष्ट्र सचिव शंकरदास बैरागीले भ्रमणको तिथि दुईपक्षीय समझदारीमा सार्वजनिक हुने बताए । प्रधानमन्त्री केपी ओलीले नियमित ब्रिफिङ लिँदै भ्रमणलाई सन्तुलित र सबल बनाउन सबै निकायलाई निर्देशन दिएको अधिकारीहरूले बताए।