नेपाल आउनु अघि यसो भने सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीले ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

नेपाल आउनु अघि यसो भने सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीले !



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि शुक्रवार नेपाल आउँदैछन् । मोदीले विहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो भ्रमणको जानकारी दिँदै नेपाल आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

विहीबार सामाजिक सञ्जाल फेसबुक तथा टवीटर पेजमा उनले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो नेपाल भ्रमण रहेको र यसले नेपाल र भारतसँगको आत्मीय सम्बन्धलाई दर्शाएको उल्लेख गरेका छन् ।

एक महिनाअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतको भ्रमण गरेको कुरालाई स्मरण गर्दै यस किसिमको दुई मुलुकको उच्चस्तरीय भ्रमणले आफ्नो ‘सबका साथ, सबका विकास’ भन्ने उद्देश्यका साथ ल्याइएको ‘सबैभन्दा पहिले छिमेकी’ नीतिमा आफ्नो सरकार प्रतिबद्ध रहेको पनि पुष्टि गरेको उनले बताएका छन् ।

मोदीले दुई मुलुकको बीचमा पछिल्लो केही वर्षमा थुप्रै किसिमको द्विपक्षीय नेटवर्क र विकासका आयोजनाहरुमा सम्झौताहरु भएको र दुवै मुलुकका मानिसहरुलाई सहयोग पुग्ने यातायातको आयोजनाहरु पनि सुरु भएको बताएका छन् ।

मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग नयाँ दिल्लीमा भएको छलफललाई थप अगाडि बढाउने र अन्य क्षेत्रहरुमा पनि साझेदारी बढाउने विषयमा छलफल हुनसक्ने उल्लेख गरेका छन् ।

मोदीले आफ्नो जनकपुर र मुक्तिनाथ भ्रमणबारे जानकारी दिँदै दुई देश बलियो सांस्कृतिक तथा धार्मिक बन्धनले बाँधिएको बताएका छन् । उनले नेपाल अहिले प्रजातन्त्रको रक्षा तथा तीव्र गतिको आर्थिक वृद्धि तथा विकासको मामिलामा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । त्यसका लागि भारतको सहयोग निरन्तर जारी उनको विवरणमा उल्लेख छ । विवरणमा भनिएको छ, “नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ योजनाको लागि पनि भारतको सहयोग निरन्तर रहनेछ ।”

नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री सहित अन्य पार्टीका नेताहरु तथा साथीहरुसँग पनि भेट्ने आफ्नो योजना रहेको मोदीले बताएका छन् । साथै यो भ्रमणले दुई मुलुकबीचको आपसी सम्बन्ध, सद्भाव तथा विश्वास बलियो बन्ने विश्वास उक्त विवरणमा व्यक्त गरिएको छ ।