मोदीका दुई जिब्रा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मोदीका दुई जिब्रा



काठमाडौं । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । उनले यो अभिव्यक्ति दिएसँगै नेपालमा पनि उक्त विषयले चर्चा पाएको छ ।

‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ,’ महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’

यसरी उनले बुद्ध भारतमा जन्मिएका हुन भनेको पहिलो पटक भने होइन । उनले थुप्रै पटक बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिइसकेका छन् ।

तर, यसमा उनको दोहोरो भूमिका देखिदै आएको छ । बङ्गालादेश खाडीको प्रयास (बिमिस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन मोदी नेपाल आएका थिए । उक्त अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले पशुपतिमा निर्माण भएको धर्मशालाको संयुक्त उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै आफूले नेपालका तीन वटा पवित्र धामको दर्शन गर्न पाएको र नेपालको पवित्र भूमि लुम्बिनीले गौतम बुद्ध दिएको तथा भारतको भूमिले बुद्धलाई ज्ञान दिएको बताएका थिए ।

तर उनले शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिले उनको दोहोरो चरित्र छरललङ्‍ग गरिदिएको छ ।

उनले दिएको अभिव्यक्तिपछि नेपालमा मोदीको चर्को विरोध भएको छ । रामचन्द्र लामिछाने नामक ट्विटर प्रयोग कर्ताले लेखेका छन्, ‘दुई जिब्रे मोदी । नेपाल आउँछन् र भन्छन् बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । बिदेश जान्छन् र भन्छन् बुद्ध भारत जन्मेका हुन् । तिम्रो नाटक अब पत्याउने कोही छैन ।

यस्तै उज्वल पोखरेलले पनि ट्विट गर्दै मोदीको अभिव्यक्ति विवादासपद रहेको र यसको भण्डाफोर गर्नुपर्ने भाव सहितको ट्विट गरेका छन् । यस्तै आक्रोस सामाजिक सञ्जालमा निकै देख्न सकिन्छ ।

मोदीले पहिलो पटक नेपाल आउँदा नेपालीबाट अथाह स्नेह पाएका थिए । पछि मोदी सरकारको पालामा लागेको अघोषीत नाकाबन्दीले उनीप्रतिको जनताको आक्रोस बढेको थियो । उनले बुद्ध भारतमा जन्मेको अभिव्यक्ति यस अघि पनि दिएका थिए । जसले गर्दा पनि उनीप्रति नेपाली चिडिएका थिए । शुक्रबारको अभिव्यक्तिले नेपालीहरू उनीप्रति झन रुष्ट बन्ने छन् ।

इतिहासलाई नै गलत बताउँदै एउटा जिम्मेवार नेताले त्यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिनु कति शोभनीय छ ? यो एउटा बहसको विषय बन्न सक्छ ।

हुन त नेपाली नेताहरूको लाचारि प्रवृतिको फाइदा उठाउँदै मोदीले त्यस्तो अभिव्यक्ति पनि दिएका हुन सक्छन् । जब कुनै देशको नेतृत्व कमजोर हुन्छ तब बाह्य शक्तिले राम्रैसँग चलखेल गर्न पाउँछ । यसमा नेपाली नेताहरू सचेत बन्ने हो की ?