आफ्नै गुरुलाई हराएर मेयर बनेकी मीनाको कथा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

आफ्नै गुरुलाई हराएर मेयर बनेकी मीनाको कथा



हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयरको रूपमा मीना लामालाई पाएकाे छ । संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उनले सत्ताधारी गठबन्धनको तर्फबाट हेटौंडाको मेयर जितेकी हुन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट उम्मेदवार बनेकी मीना कुमारी लामाले २३,०७५ मत ल्याई विजयी भएकी छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार अनन्‍तप्रसाद पौडेललाई २,१६७ मतान्तरले पराजित गरेकी हुन् । पराजित अनन्‍तप्रसाद पौडेलले २०,९०८ मत ल्याएका छन् । यसअघि लामा र अनन्त एकै पार्टीमा थिए । एमाले फुटपछि मीना एकीकृत समाजवादीतिर लागेकी हुन् । लामाले पराजित पाैडेललाइृ राजनीतिक गुरुसमेत मान्दछिन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ ३२,५९३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार सुमित्रा काफ्‍लेले २३,९०९ मत ल्याएकी छन् ।

राप्रपाका दिपक बहादुर सिंहले २० हजार ५ सय ३१ ल्याए । उपमेयरमा राप्रपा की इन्दिरा न्यौपानेले ५ हजार ८ सय ८७ मत प्राप्त गरेकाे मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

बागमती प्रदेशको राजधानी रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाको पहिलो नगर प्रमुख महिला बन्दै गर्दा लामाले महिला शक्तिमाथिको विश्वासलाई व्यवहारमा देखाउने बताएकी छन् ।

सुरुवाती मतगणनामा पौडेल अगाडि भए त कहिले सिंहको अनेपेक्षित मतले हेटौंडाको चुनावी माहोल ततायो । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरुका अपेक्षित मत पौडेललाई आउन सकेन ।

अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गरेकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने अवसर प्राप्त भएको छ ।