आजको देशको चित्र - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आजको देशको चित्र



 

“सुमिना अभिलाषी”

बगिरहेछ कोशी कर्णाली र गण्डकी
समेटेर रगताम्य भएको
अस्मिताका छिर्काहरू !

ध्वनी प्रतिध्वनी हुँदै
कर्कस बोलिरहेछ सन्नाटा चिरेर
कहालिदा छाँगाहरूबाट
दैनिक जसो अनौठो चित्कार !
आँशुका भेलहरू मिसाइ
झरिरहेछन् यहाँका झरनाहरू !

सुचारु छ्न् अहोरात्र
अपराधका अभियान्ताहरू !
बस् क्रमिक काण्ड गरिरहेछ्न्
सिकार गरिरहेछ्न् कलिलो अस्मितामाथी
र बिस्तार गरिरहेछन् लासहरूको लस्कर !

अध्यारोको खेति गरिरहेछन्
त्रसित मुखुण्डो भिरि
जून निलेर कति निशाचरहरू !

कोहि निभाइरहेछ्न् न्याएको प्रकाश
र देखाइरहेछ्न्
भाबि युगलाइ अध्यारोको त्रासदि !

मान्छे हुनुको संवेदना गुमाइरहेछ्न्
भावुकता पोख्दैनन् अहँ लासमाथी पनि !

जीवन मुक्ती पछि पनि
दुखद रुवाइ रोइरहेछन्
कति निर्मलाहरू परलोकबाट !
हात जोडेर अनुनय बिनय गरिरहेछ्न्
न्यायको निम्ति !
तर मृत आत्मको बिलाप कुल्चेर
गुमनाम पारिएका छ्न् यहाँ दोशिहरू !

लटरम्म भरिएका छ्न् अखबारहरू
अपराधिक हेडलाइनका समाचारहरूले !
दङ्ग छ्न् समाचारकर्मीहरू
दिनहु घटित हुने
नया र नौला घटनाहरूको विवरणले !
तर मन बिच्काइरहेछ्न् सर्व साधरणहरू
हेरेर टेलिभिजनमा
दिनहुँ हृदय काँप्ने बीभत्स चित्रहरू !

तमासा हेरिरहेछ सरकार
आँखै अघि चुनौती दिएर
लुछिन्छ स्तन !
रगताम्य पारिन्छ यौनाङ्ग !
धुजा धुजा पारिन्छ अस्मिता !
अबोधहरूको गला निचोरि
लासमाथी हुन्छ्न्
चरम सन्तुष्टिको भब्य उत्साह मेला !
र हुँकार्छन् पुरुषार्थको आडम्बर !

अनबिज्ञ छु म यो बिडम्बना संग
खै
कुन दिशामा मार्ग चालित भै रहेछ
कुन अवस्थाको सुत्रपात गरिरहेछ समय
मडारिइरहेछ कस्तो संकटको अन्धकार
यतिबेला मेरो देशको
बर्तमान र भविष्यमाथी !

बुटवल रुपन्देही