ब्लड क्यान्सर पीडित मिनालाई कलिला विद्यार्थीहरूको सहयोग

कैलाली
‘ब्लड क्यान्सर’बाट पीडित कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मिना बमलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत समाजकार्य दोस्रो वर्षका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् ।
ब्लड क्यान्सरबाट पीडित मिनाको आर्थिक स्थिति कमजोर भएको र ब्लड क्यान्सर भएको थाहा पाएपछि श्रीमानले छोडेको समाचार प्रकाशन भएपछि विद्यार्थीहरूले मङ्गलवार मिनाको घरमै गएर १८ हजार बराबरको रकम सहयोग गरेको हुन् ।
समाजकार्य दोस्रो वर्षका विद्यार्थीहरूले क्याम्पसमा गरेको होली विशेष कार्यक्रमबाट सङ्कलन भएको रकम र क्याम्पसका अन्य विद्यार्थीहरूबाट मिना बचाउ अभियान सञ्चालन गरी जम्मा भएको रकम मिनालाई हस्तान्तरण गरेका छन् ।
उपचारको लागी विभिन्न ठाउँबाट भण्डै एक लाख बराबरको रकम सहयोग आएपछि मंगलबारनै मिनालाई थप उपचारको लागी चितवन लगिएको छ ।
एक वर्षदेखि लगातार उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नभएपछि उनी घरमै थला परेकी थिइन । चिकित्सकका अनुसार बमको उपचार गर्न करिब १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदा बमले बताइन् ।
उनका परिवारले सहयोगको अपिल गरेका छन् । सहयोग गर्नुहुनेले एभरेस्ट बैकमा रहेको मिना बम की आमा शारदा देवी बम को खाता नं. ०६८००५०१२००५६० मा रकम जम्मा गर्न सक्नुहुन्छ ।

