कारबाहीमा परे विवेकशील साझाका संयोजक मिलन पाण्डे - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

कारबाहीमा परे विवेकशील साझाका संयोजक मिलन पाण्डे



काठमाडौं – विवेकशील साझा पार्टीमा फेरि लफडा सुरु भएको छ। अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित भएपछि विवाद देखिएको हो।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको दस्ताबेजलाई केन्द्रीय समितिका एक सय २४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। यसअघि अध्यक्ष मिश्रलाई सेरेमोनियल र संयोजक मिश्रलाई कार्यकारी अधिकार दिइएको थियो ।

तर, बिहीबारको बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पाण्डेको अधिकार कटौती गरिएको हो।

विवेकशील साझाले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

उता, पाण्डे समूहले भने मिश्रले पार्टी फुटाएको आरोप लगाएको छ । पार्टीको विधानमा संयोजकलाई कार्यकारी अधिकार दिइएको भन्दै निर्वाचन आयोगमै भेट हुने चेतावनी दिएको छ।