विधेयक फिर्ता नलिने, मिडियामा विदेशी लगानी प्रतिबन्ध - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विधेयक फिर्ता नलिने, मिडियामा विदेशी लगानी प्रतिबन्ध



काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा पत्रकारहरुमाथि खनिएका छन् । मिडियासम्बन्धी विद्येयकका बारेमा पत्रकारहरु आन्दोलित भएको अवस्थामा मन्त्री बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रता कुनैपनि हालतमा हनन नगर्ने बर रक्षा गर्ने जिकिर गर्दै हचुवाको भरमा विधेयकको विरोध नगर्न पत्रकारहरुलाई चेतावनी दिएका हुन् ।

मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमा विदेशी लगानी स्वीकार्य नभएको पनि स्पष्ट पारे । उनले भने,‘मिडिया भनेको आलु, प्याज ब्यापार होइन,’ उनले भने, ‘हामी मिडियामा विदेशी लगानी पूर्ण प्रतिबन्ध लगाउँछौं।’

विश्वका कुनैपनि देशको सञ्चारमाध्यममा विदेशी लगानी छुट नभएको भन्दै उनले मिडिया विचार निर्माण, राष्ट्रियता रक्षा, स्वाभिमान र लोकतन्त्रको मौलिकता भएको समेत बताए।

उनले संविधानमै पूर्ण प्रेस स्वतन्त्रता रहेकाले प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने समेत दाबी गरेका छन्। आज हेटौंडामा राष्ट्रिय सूचना प्रविधी केन्द्रको डिजास्टर रिकभरी सेन्टर उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । आफूहरु प्रेस स्वतन्त्रताकै लागि लडेकाले व्यवस्थित गर्न मात्र खोजेको पनि मन्त्री बाँस्कोटाको भनाई थियो ।

उनले अघि थपे,‘अब गजब के भइसक्यो भने प्रेस स्वतन्त्रता खोस्यो, लुट्यो भनेर हिड्या छ, त्यो काम नगरौ, मिडियाप्रति सरकारको कुनै दुश्मनी छैन। मिडिया क्षेत्रलाई सबल बनाउन सरकारले मिडिया र श्रमजिवीको पक्षमै ऐन ल्याउन खोजेको हो । संसदमा पेश नै नगरेको बिधेयक फिर्ताको माग गरेको भन्दै उनले पत्रकारका अगुवालाई भने, ‘आफैं फिर्ता लिए हुन्छ।’