मेस्सीलाई विश्वकप आवश्यक छैन: प्रशिक्षक - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मेस्सीलाई विश्वकप आवश्यक छैन: प्रशिक्षक



विश्वको सर्वकालीन उत्कृष्ट फुटबलर बन्नका लागि लियोनल मेस्सीलाई विश्वकप फुटबलको उपाधि जित्नै पर्छ भन्ने नरहेको अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले बताएका छन् ।

३० वर्षका मेस्सीले रुसमा जारी विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । त्यो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकियो । त्यसपछि मेस्सीको आलोचना भयो ।

मेस्सीले क्लब प्रतिस्पर्धामा ३२ वटा उपाधि जितेका छन् भने पाँच पटक बालोन डी’आर जितेका छन् । तर एक पटक पनि विश्वकपको उपाधि उचाल्न पाएका छैनन् ।

विश्वको सर्वकालीन उत्कृष्ट खेलाडीका रुपमा हेरिनका लागि मेस्सीमा अब विश्वकपको मात्रै कमी रहेको बताउने धेरै छन् । तर बिबिसीसँगको कुराकानीको क्रममा पूर्व स्ट्राइकर क्रेस्पोले भने मेस्सीका लागि सर्वकालीन उत्कृष्ट खेलाडी हुन विश्वकपको खाँचो नरहेको बताए ।

उनले भने, ‘हामीले यस्ता धेरै खेलाडी देखेका छौँ जो उत्कृष्ट छन् र उनीहरुले विश्वकप जितेका छैनन् ।’

उनले अघि भने, ‘मेस्सी उत्कृष्ट खेलाडी हुन् । उनले खेलेको हेर्दा मज्जा आउँछ । उनी निकै राम्रा मानिस पनि हुन् । विश्वकप जित्न लायक खेलाडी हुन् ।’

मेस्सीले चौथो पटक विश्वकप खेल्दैछन् । उनी सन् २००६ यताको विश्वकपमा खेल्दै आएका छन् । सन् २००६ र २०१० मा क्वाटरफाइनलमा पुगेको टिम चार वर्षअघिको विश्वकपमा भने फाइनलमा जर्मनीसँग हारेको थियो ।

मेस्सीले ब्राजिलमा भएको सन् २०१४ को विश्वकपमा प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितेका थिए । तर विश्वकप उचाल्ने उनको धोको पूरा भएको छैन । अर्जेन्टिनाले बिहीबार आफ्नो दोस्रो खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ ।