मेस्सीले फुटबलबाट सन्यास लिने संकेत - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

मेस्सीले फुटबलबाट सन्यास लिने संकेत



एजेन्सी- अर्जेन्टिना र बार्सिलोनाका समर्थकको मात्र होइन, आजभोलि सम्पूर्ण फुटबल प्रेमीलाई सताउने प्रश्न हो, लियोनल मेस्सीको सन्यासपछि के होला? त्यसपछि उनकोजस्तो जादुमयी खेल हेर्न कति वर्ष र पुस्ता कुर्नुपर्ला? महानतम खेलाडीबिनाको फुटबल कस्तो होला?

कतिपयले मेस्सीको सन्यासपछि फुटबल सदाका लागि बदलिने भविष्यवाणी पनि गर्न थालेका छन्।

खासगरी यस वर्षको बालन डिओर समारोहमा अब आफूसँग खेलका लागि धेरै समय नरहेको संकेत मेस्सीले दिएपछि उनको प्रशंसकको निद्रा हराएको छ।

‘म कति बुढो भएँ भन्ने मलाई थाहा छ,’ बालन डिओर समारोहपछि पत्रकारहरुसँग मेस्सीले भने, ‘म यो क्षणको भरपूर मज्जा लिइरहेको छु किनभने सन्यास नजिकिँदै छ। समयले कसैलाई पर्खिंदैन। तैपनि मलाई आशा छ, म अझै थुप्रै वर्ष खेलिरहने छु।’

‘अहिले म ३२ को भएँ। सिजनको अन्त्यमा ३३ वर्ष पुग्नेछु। त्यसैले मेरो शारीरिक अवस्था कस्तो हुन्छ, सबैकुरा त्यसमा निर्भर हुन्छ,’ उनले थपे, ‘अहिलेलाई म आराम महसुस गरिरहेको छु। आशा छ, अझै लामो समय यस्तै रहनेछ।’

मेस्सीले बार्सिलोनाका लागि सात सय ३३ खेलमा ६ सय १४ गोल गरिसकेका छन्। यसैवर्ष उनले छैठौँ बालन डिओर पनि प्राप्त गरेका छन्।