नेदरल्याण्ड्सलाई मेस्सीको तनाव - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

नेदरल्याण्ड्सलाई मेस्सीको तनाव



कतारमा भइरहेको विश्वकप फुटबलमा आज मध्यरात १२ः४५ मा क्वार्टर फाइनलको दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। त्यसअघि नै सेमिफाइनल पुग्ने एउटा टिमको तय भइसकेको हुनेछ।

अर्जेन्टिना र नेदरल्याण्ड्स दुवै अन्तिम ४ मा पुग्ने लक्ष्यमा रहँदा यी दुवैबीचको खेल प्रतिस्पर्धात्मक र रोचक हुने आँकलन अधिकांशको छ।

सन् १९७८ को विश्वकप जित्दा अर्जेन्टिनाले फाइनलमा नेदरल्याण्ड्स्सलाई पराजित गरेको थियो। तर क्वार्टर फाइनलमा भने यी दुई टिम चिरपरिचित छन्। सन् १९९८ मा अर्जेन्टिनासँग नेदरल्याण्ड्स्सले क्वार्टर फाइनलमा बदला लिँदै सेमिफाइनल पुगेको थियो।

तर उसले उपाधि चुम्न भने सकेन। उसलाई फ्रान्सले पराजित गर्दै उपाधि जित्यो। पछिल्लो पटक सन् २०१० को फाइनलमा पुगेको भए पनि डच टिमले उपाधि उचाल्ने प्रयासमा सफलता पाउन सकेन।

पछिल्लो पटक सन् २०१४ मा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दा अर्जेन्टिनाले सनसनीपूर्ण जित निकाल्दै फाइनलमा पुगेको थियो। सेमिफाइनलमा अर्जेन्टिना नेदरल्याण्ड्सलाई स्तब्ध पार्दै विजयी भएको थियो।

विश्वकपमा त्यो पनि नकआउटमा पटक पटक भिडेका यी दुई टिमको प्रतिस्पर्धा निकै रोचक हुने आँकलन गरिएको छ। नेदरल्याण्ड्स्सले विश्वकप २०२२ मा अन्तिम ८ को यात्रा तय गर्ने क्रममै अफ्रिकी च्याम्पियन सेनेगल, एशियन कप विजेता कतार र कन्काफ च्याम्पियन अमेरिकालाई पराजित गर्दै अघि बढेको हो।

यी दुई टिमले आपसमा यसअघि विश्वकपमा ५ पटक प्रतिस्पर्धा गरेका छन् । सबैभन्दा बढी चर्चा सन् १९७८ को फाइनलको हुने गर्छ।

नेदरल्याण्ड्सले विश्वकपको क्वार्टर फाइनलमा पछिल्ला ३ खेलनै जितेको छ। त्यसैले अर्जेन्टिनालाई पनि सन् १९९८ को विश्वकपमा २-१ ले हराएको थियो। अर्जेन्टिनाले क्वार्टर फाइनलमा ३ जित र ४ हारको नतिजा निकालेको छ।

समग्रमा ९ पटक एकअर्काविरुद्ध भिड्दा नेदरल्याण्ड्सले ४ पटक जितेको थियो भने अर्जेन्टिनाले ३ पटक जितेको छ। २ खेल बराबरीमा सकिएको छ। यी दुई टिमबीच ८ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो।