मेस्सीलाई १५ सय डलर जरिवाना र प्रतिबन्ध - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

मेस्सीलाई १५ सय डलर जरिवाना र प्रतिबन्ध



एजेन्सी- अर्जेन्टिनाका स्टार लियोनल मेस्सीलाई दक्षिण अमेरिकी फुटबल संगठन (कोनमेबोल) ले जरिवानासहित विश्वकप छनोटमा प्रतिबन्ध लगाएको छ ।

कोपा अमेरिकाअन्तर्गत चिलीविरुद्धको खेलमा रातो कार्ड खाँदै बाहिरिएका मेस्सीलाई कारबाहीस्वरुप सो प्रतिबन्ध लगाइएको कोनमेबोलले जनाएको छ ।

मेसीले १५ सय अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ भने २०२२ को विश्वकप छनोटको सुरुवाती खेल गुमाउनेछन् ।

विश्वकपको दक्षिण अमेरिकी छनोट मार्चबाट सुरु हुँदैछ । तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा ३७ औं मिनेटमा गेरी मेन्डलसँग घम्साघम्सी परेपछि दुवै खेलाडीले रातो कार्ड पाएका थिए ।

खेलपछि मेस्सीले कोनमेबोलमा भ्रष्टाचार भएको र अर्जेन्टिनालाई पराजित गर्ने षड्यन्त्र गरिएको विवादास्पद प्रतिक्रिया दिएका थिए । कोनमेबोलले अहिले गरेको कारबाहीमा सो विवादास्पद प्रतिक्रियाबारे भने उल्लेख गरेको छैन ।

तर, मेसीले लिखित रुपमा आफ्नो भनाईका लागि संघसँग माफी मागिसकेका छन् । यद्यपि मेसीले माफी मागेपनि अर्को वर्ष हुने कोपा अमेरिकाका केही सुरुवाती खेल पनि गुमाउन सक्ने चर्चा चल्दै आएको छ ।