मेरो पहिलो प्राथमिकता नेपाल र नेपाली क्रिकेट हो :सन्दीप लामिछाने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेरो पहिलो प्राथमिकता नेपाल र नेपाली क्रिकेट हो :सन्दीप लामिछाने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो प्राथमिकता नेपाल र नेपाली क्रिकेट भएको बताएका छन् । दिल्ली डेयरडेभिल्सले गरेको फेसबुक लाइभमा आफ्नो फ्यानहरूसँग बोल्दै सन्दीपले आफू जहिले पनि नेपाल र नेपालीका लागि खेल्ने गरेको बताएका हुन् ।

सन्दीपले धेरै कुराको अनुभव लिइरहेको फेसबुक लाइभमा भनेका छन् । उनले भने, “मेरो प्राथमिकता भनेको नेपाली क्रिकेट टिम हो । नेपालको गेम हुँदा पहिलो प्राथमिकता भनेको नेशन नै हुन्छ । सबैभन्दा माथि नेपाल नै राख्छु । नेपाली क्रिकेटका लागि आगामी दिनमा राम्रो गर्ने कोसिस गर्नेछु ।”

सन्दीपले अगाडि भने, “हामी सबैले कडा प्ररिश्रम गरेका छौँ । डिल्ली डेयरडेभिल्सका सबै सदस्यलाई धन्यवाद भन्न चाहन्छु मलाई छनोट गरेकोमा । सबै कुराहरू राम्ररी नै अघि बढिरहेको छ तरपनि हामीले खेलहरू हार्यौं । तैपनि यहाँ केही कुराहरू सकारात्मक पनि भएका छन् ।”

फेसबुक फ्यानको प्रश्नको उत्तर दिँदै सन्दीपले नेपाल र भारतको पिचमा फरक रहेको हुँदा आफूलाई घुलमिल हुन समय लागेको पनि बताए । सन्दीपले भने, “भारतको पिच र नेपालको पिचमा अलिकति फरक हँुदो रहेछ । टर्नहरु चाहिँ नेपालको पिचमा धेरै हुन्छ । त्यसले गर्दा यहाँ घुलमिल गर्न अलिक समय लाग्छ ।”

ओपनिङ बलिङ गर्न पाउँदा आफू नर्भस नभएको बताउँदै सन्दीपले भारतीय कप्तान विराट कोहलीविरुद्ध बलिङ गर्न पाउँदा राम्रो महसुस भएको बताए । “प्रत्येक बलमा रन बनाइरहेका हुन्छन् भारतका कप्तान विराट कोहली । उनीविरुद्ध बलिङ गर्न पाउँदा राम्रो महसुस भयो । पार्थिव पटेललाई आउट गर्दा अविस्मरणीय रह्यो । यो मेरो लागि गौरवको कुरा हो । ओपनिङ बलिङ गर्दा म नर्भस भएको थिइनँ । कप्तान श्रेयसले मलाई भनेका थिए– कन्फिडेन्ट भएर बलिङ गर । मलाई त्यस्तो नर्भस महसुस नै भएन ।”

सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका थिए । सन्दीपले आफ्नो डेब्यु खेलमा नै अन्य बलरले भन्दा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।

सन्दीप आइपिएल खेल्ने नेपालको पहिलो खेलाडी हुन् । उनलाई दिल्ली डेयरडेभिल्सले अक्सनबाट २० लाख भारुमा किनेको थियो ।