मेरो मृत्युमा नबगेका तिम्रा आँसु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मेरो मृत्युमा नबगेका तिम्रा आँसु



 समीर प्रकाश पाण्डे

हरेक मान्छे ले सपना देख्दछ । स्वर सम्राट्ले पनि देखेका थिए । सपनाको पनि प्रकार र किसिम हुने रहेछ । अचेल मान्छे हरू दिउसै सपना देख्छन् । कतिपय त ननिदाई सपना देख्छन् । आँखा खुल्लै राखेर देखेको प्रगतिको यौटा सपना पुरा गर्नको लागि आफ्नो प्यारो दुनियाँलाई सुदूर कुनोमा थन्क्याएर केही टुक्रा खुसीको लागि परदेशिएको म । यौटा साधारण परदेशी । साना साना सपना पुरा गराउनको लागि रातो दिन पसिना बगाइरहेको यौटा औसत मान्छे । मेरा सपना हरू औसत भन्दा माथिका कहिल्यै भएनन् । मैले देख्ने सपना रंगीन पक्कै थिए तर आकाशका तारा टिप्ने खालका थिएनन् । कसैको मर्म स्पर्श गर्ने खालका पक्कै थिए कसैलाई अवान्छित सपना देखाउने खालका पक्कै थिएनन् ।

ती तमाम सपना भित्र मेरो दैनिकी थियो । मेरो कर्म थियो । बिहान उठ्नु, अफिस जानु, दिनभरि काम गर्नु, फर्कनु, सुस्ताउनु, सुत्नु निदाउनु र मुख्य सपना भित्र अर्को अमूर्त सपना देख्नु र तिनै सपना हरूमा रमाउनु मेरा दैनन्दिनी हरू थिए । सपनामा मा बाबालाई देखेको भोलिपल्ट मेरो दिन उर्जावान हुन्थ्यो । आमालाई देखेको भोलिपल्ट मेरो दैनिकी आशीर्वादले ओतप्रोत हुन्थ्यो । प्रियसी लाई देखेको भोलिपल्ट मेरो दैनिकी प्रेमिल हुन्थ्यो। तर हिजो सपनामा अचम्मै भयो । त्यो कालो र निष्पट रात, अरबको खाडीबाट उडेर आउने हावाका झोककाहरूले पनि तिम्रै याद उडाएर ल्याएजस्तो लागिरहेको थियो । सायद तिमीलाई छोएर उडेको हावाको झोंकाले मलाइ स्पर्श पो गरेको थियो कि ! त्यो हावाको स्पर्शले तिम्रो यादमा रोमान्चित बनाउँछ मलाइ त्यसैले म साँझको समय समुद्र किनार तिरै सुस्ताउने गर्दछु । मलाइ डाह लाग्छ त्यो हावा सँग । तिमीलाई उसले गरेको स्पर्श सँग जल्छु म । यो तिम्रो र मेर बिचको भौगोलिक दुरीको फाइदा उठाउने त्यो बेइमानी हावा मनमा पाप बोकेर मलाइ शीतल बनाइरहेको त छैन कतै?हावा माथि नै शङ्का गर्छु म ।

आज पनि म प्रतीक्षा गरिरहेको छु त्यो हावाको । जुन हावा तिमीलाई छोएर आउँछ र मलाइ छुँदै सुदूर समुद्रमा बिलाउँछ । त्यो केवल मलाइ रोमान्चित बनाउन उड्ने हावा हो भन्ने ठान्दछु म । धेरै बेर पर्खिएँ । आज हावाको झोका उडेर आएन । बरु आयो यौटा कालो र डरलाग्दो छाया । म नजिकै आयो र मलाइ दह्रो गरी छोयो । उसको छुवाई स्पर्श थिएन । त्यो प्रहार थियो । शीतल पवनको स्पर्शको प्रतीक्षा गरिरहेको मलाइ त्यस्तो क्रूर प्रहारको अपेक्षा थिएन ।

मर्ममै परेको कठोर प्रहारको चोट सहन नसकेर म बेहोस हुन्छु । तर मलाइ हेक्का छ त्यो मलाइ मार्न नभई मर्माहत बनाउन गरिएको प्रहार थियो । म अर्ध बेहोशीमा छटपटाउछु । त्यो कालो छाया बिस्तारै चलायमान हुँदै म नजिक आइपुग्छ । मलाइ बिस्तारै अठ्याउछ, थिच्छ मलाइ श्वास फेर्न गाह्रो हुन्छ । आँखाका परेलाहरू कम्जोर हुँदै जान्छन् र बन्द हुन्छन् । दुई आँखाको बिचबाट यौटा सानो चम्किलो पदार्थ निस्केर गएजस्तो लाग्छ । त्यो मेरो प्राण रहेछ । आखिर मेरो प्राणले मेरो शरीर छोडेको मलाइ अनुभव हुन्छ र म आफैलाई मृत्युको काखमा लम्पसार परेको भेटाउँछु ।

मेरो घरको आँगनमा सयौँ मान्छेहरू को भिड थियो । कसैले एउटा सानो कचौरामा राखिएको पानी जबरजस्ती मेरो मुखमा राख्दिने कोसिस गर्दै थिए । कोही सिक्का पैसा र फुल अक्षता मेरो शरीरमा चढाउँदै थिए । उता बाबा आमा, अङ्कल अन्टि दाजु भाइ दिदी बहिनीहरू ठुलो ठुलो स्वरमा बाबु बाबु भन्दै रुँदा रुँदै बेहोस भएका थिए । मेरो आँगनको सिङ्गो माहौल कोलाहलमय बनेको थियो । घरको अगाडि पट्टि खालि जग्गामा सवारी साधनहरू प्रशस्तै देखिन थालेका थिए । जो आउँछ उसैले किन कसरी यस्तो भयो भन्दै प्रश्न गर्दै थिए तर उत्तर दिन भने कोही तयार थिएन ।

मेरो भर्खरै मृत्यु भएको थियो । मेरो आत्मा शरीरबाट निस्केको भए पनि यही भिडमा रुमल्लीई रहेको थियो । सायद कसैलाई खोज्दै थियो मेरो आत्माले । मान्छेहरू जम्मा हुने क्रम घटेको छैन आउनेहरू देख्ने बित्तिकै च्व: च्व: को आवाज निकाली रहेका छन् । कोही त म मरे पछि खुसी हुनेहरू पनि होलान् तर यहाँ प्रशंसा मात्र भएको छ मेरो । बिचरा मान्छे ठिक थियो सबैको भलो चाहन्थ्यो कहिले कसैको चित्त दुखाएन भगवानले पनि राम्रो मान्छेलाई नै छिटै लाने रैछन् यस्तै यस्तै भनेर मान्छेहरू मेरो बारेमा कुरा गरिरहेका थिए ।

म सँगैका केही सहपाठी साथीहरू साचिक्कै भक्कानिदै थिए किन हामीलाई छोडेर गहिस भन्दै । अब लास उठाउने बेला भएछ क्यार घर भित्र बाहिरबाट ठुलो ठुलो आवाजमा रोएको डाको सुनियो । केही ब्याक्ति सम्झाउँदै थिए अब जे हुने भैहाल्यो रोएर हुने हैन चित्त बुझाउनु पर्छ तर ती आमाबाउ मनले कहाँ मान्थ्यो होला र झन् झन् आवाज चर्किन थाल्यो । अब भने मलाई तुलसीको मोठ नजिकको स्थानबाट उठाएर गाडीमा हालियो र निकालियो घरबाट ।

बाटोमा मेरो लास लैजाँदै गर्दा चासो लिएर सोध्ने हरू धेरै छन् । उमेर मै गएछ भनेर अचम्म पर्दै छन् नचिन्ने हरू । केही हितैषी साथीहरूले सामाजिक सञ्जालमा रिप लेखिसकेछन् । यो मरे हुन्थ्यो भनेर प्रार्थना गर्नेहरू कोही थिए कि थिएनन् मलाइ हेक्का छैन । यदि थिए भने तिनीहरू खुसी भए होलान् पक्कै । कसैको मृत्युमा कोही खुसी भइहाले पनि त्यो खुसी व्यक्त नगर्ने साधारण चलन छ हाम्रो समाजमा । जति सुकै ठुलो दुस्मनको मृत्यु भए पनि दुई थोपा आँसु र दुई शब्द समवेदना दिने चलन त हाम्रो परम्परा नै हो ।

मेरो आत्माले जसलाई खोजिरहेको थियो मेरो मृत्युमा दुई थोपा आँसु बगाउन उही अनुपस्थित देखियो । जसलाई स्पर्श गरेको हावाको झोक्का सँग छोइएरै मैले जिन्दगीका अनुपम रहरहरू पुरा गरेँ, जसको सपनालाई मूर्तरूप दिनकै लागि मैले धेरै आफ्ना अमूर्त सपना हरूलाई त्यागेँ आज उसैले मेरो मृत्युमा एक थोपा आशु बगाउन आवश्यक ठानेन । मैले सपनाको अर्थ खासै खोज्दिन ।

तर आज मनमा अनेक तर्कना खेलिरहेछन् । सधैँ शीतल हावाले छुने उनलाई आज कुन कालो छायाँ ले छोयो र त्यसको प्रभाव मेरो सपनामा देखियो ?

कतै मेरो मायामा खोट पो थियो कि अथवा उसको माया झुटो पो थियो कि ? आफ्नै माया माथि शङ्का गर्दा गर्दै मोबाइलले पाँच बजेको घण्टी बजायो । म झल्यास्स ब्युझिएँ । कस्तो डरलाग्दो सपना ? हतार हतार पसिना पुछेर अर्को सपना पच्छ्याउन दगुरेँ ।