कलाकार छनोटमा ‘मेरी मामु’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कलाकार छनोटमा ‘मेरी मामु’



सुपरहिट फिल्म ‘प्रेमगीत’ को दुई सिरिज निर्माण गरेका निर्माता सन्तोष सेन अहिले आफ्नै ६ वर्षे छोरा आयूब सेनलाई लिड रोलमा लिँदै फिल्म ‘मेरी मामु’ निर्माण गर्दैछन् । यो फिल्मले एक छोरा र आमाको कथा बोल्छ ।
६ महिना लामो अभिनय कोर्ष पश्चात् निर्माता सेनले छोरालाई फिल्ममा लिएका हुन् । असार ३ गतेबाट फ्लोरमा जान लागेको यो फिल्मलाई याम थापाले निर्देशन गर्दैछन् ।

प्राप्त जानकारी अनुसार, निर्माण कम्पनी आसुसेन फिल्मस् प्रालिले आयूबकी आमाको भूमिकामा कुसुम गुरुङलाई अनुबन्ध गरेको छ । कुसुमले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । लण्डन निवासी उनले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् । सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा उनले अभिनय समेत गरेकी छन् ।

बाल मनोविज्ञानमा बन्ने ‘मेरी मामु’ को कथा निर्देशक थापा आफैंले लेखेका हुन् । स्रोतका अनुसार, फिल्म ‘प्रेमगीत २’ पछि पर्दाबाट टाढा रहेकी अभिनेत्री अश्लेषा ठकुरीको पनि यस फिल्ममा अभिनय रहनेछ । निर्माता सेन भने केही दिनमै फिल्मको विषयमा एक कार्यक्रम आयोजना गर्दै कलाकार सार्वजनिक गरिने बताउँछन् । स्तरिय फिल्म निर्माण गर्ने निर्माताको सूचीमा अग्रस्थानमा आउने सन्तोष युवा स्टार प्रदीप खड्कालाई लिएर ‘प्रेमगीत’ को तेस्रो सिरिज निर्माण गर्ने तयारीमा समेत छन् ।