मेरा जिन्दगीका शरदहरू - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

मेरा जिन्दगीका शरदहरू



लगातारको वर्षाले रुझेको प्रकृतिलाई
सुख्खा पन दिँदै
हिलाम्मे वातावरणलाई
सफा र सुसज्जित आवरण दिएर

भित्तामा झुण्डाइएका
क्यालेन्डरका पत्ताहरु पल्टाउदै जाँदा
सालको मध्य बिन्दुमा आइ
सधैँ ठिँङ्ग उभिन्छ शरद

सूर्यका चर्का तेजहरूमा
केही मधुरताका रङ्गहरू चढाउदै
बतासमा अलिकति चिसो पन घोलेर
सितलताको सहारी बन्दै

रंगिन्छ प्रकृति सजिन्छ वातावरण
बज्न थाल्छ्न लगातार
रौनकनाका बाँसुरी हरू
गुन्जिन्छ मालाश्री
अंकुराउछ्न पुष्पबोटहरू
अनि ढकमक्क फुल्छ्न
शरदका कैयौँ फुलहरू

विडम्बना
ओरालोमा चिप्लिन छोड्दैन
परिस्थितिको झरीले निथ्रुक्क रुझेर
हिलाम्मे बनेको जिन्दगी
न बज्छ उमंगको मालाश्री
न झाँगिन्छ जिन्दगीको बोट
न फुल्छ्न अनेक खुसीका फुलहरू
न रंगिन्छ मेरो जिन्दगीको उदेकलाग्दो बगैँचा

र त सधैँ सधैँ
रंगहिन , सफेद , बेरंग भएर
गुज्रिन्छ्न मेरा जिन्दगीका
असंख्य शरदहरू ।।।।

“सुमिना अभिलाषी”
सेप्टेम्बर -19-2017