मेलम्चीमा सुरक्षागार्डको 'ब्रह्मलुट' - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मेलम्चीमा सुरक्षागार्डको ‘ब्रह्मलुट’



सिन्धुपाल्चोक- मेलम्ची आयोजना निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसी कम्पनीले ठेक्का रद्द गरेपछि आयोजनाका सम्पति सुरक्षाकर्मीले नै अवैध रुपमा बिक्री गर्ने गरेको खुलासा भएको छ। स्थानीयको सुराकीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएपछि यो रहस्य खुल्न आएको हो।

अनुसन्धानमा आयोजनाका सुरक्षागार्डले नै ७५ किलो तामा बेचेको देखिएपछि ५ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। उनीहरू विरुद्ध जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर भएको छ।

मेलम्ची आयोजनाका सम्पत्ति कौडीको भाउमा बिक्री गरेकाले राष्ट्रिय सम्पत्ति हिनामिना गरेको भन्दै जिल्ला अदालतमा सिन्धुपाल्चोकमा मुद्दा दायर भएको हो। उनीहरुलाई कानुनअनुसार कारबाही माग गर्दै मुद्दा दायर भएको हो।

आयोजनाको सम्पति रक्षाका लागि खटिएका सुरक्षाकर्मीले नै सम्पति हिनामिना गरेको देखिएपछि आयोजनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय गौरवका आयोजनाका अलपत्र सामान तराइ मूलका मानिसलाई बेचेको प्रहरीले दाबी गरेको छ। तर पक्राउ परेका सुरक्षाकर्मी र क्रेताको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेका पाँचै जनालाई चोरी-डाकाको मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ। उनीहरु पाँचै जनालाई जिल्ला सदरमुकाम पठाइएको छ।

मेलम्ची आयोजनामा सिएमसी बाहिरिएपछि आयोजनाका सम्पत्ति अलपत्र अवस्थामा छन्।