एमबीबीएस सिट बढाउन केयूको लबिङ - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमबीबीएस सिट बढाउन केयूको लबिङ



काठमाडौं ।

काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको यसअघि निर्धारण भइसकेको एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ ।

केयू स्रोतका अनुसार विराटनगरको नोबेल र विराट मेडिकल कलेजको सिट थप गर्न काउन्सिललाई आग्रह गरेको हो । केयू र काउन्सिलले तोकेको विज्ञहरुको संयुक्त टोलीको निरीक्षण प्रतिवेदनको आधारमा यसवर्ष सिट निर्धारण गरिएको थियो ।

यसकै आधारमा विद्यार्थीलाई काउन्सिलिङ गरेर काउन्सिलले निर्धारण गरेको सिटमा भर्ना समेत लिइसकेको छ । काउन्सिलले नोबेलको ९० र विराटमा ६५ सिट निर्धारण गरिसकेको छ ।

‘यसपालिको सीट निर्धारण केयू र काउन्सिलले खटाएको संयुक्त विज्ञ टोलीको प्रतिवेदनलाई आधार मानेर गरिएको हो,’ काउन्सिलका एक सदस्यले भने,‘फेरी पुनरावलोकन गर्ने निर्णय गरेछ । यसको स्वार्थ बुझ्न सकिएन ।’

विश्वविद्यालय प्राज्ञिक परिषद्को कातिक २८ को बैठकले काउन्सिलमा सिट संख्या पुनरावलोकनका लागि लेखी पठाउने निर्णय गरेको हो । बैठकले नोबेलमा एक सय र बिराटमा ७५ सिट उपयुक्त हुने निश्कर्ष निकालेको छ ।

यही निर्णयको आधारमा स्कूल अफ मेडिकल साइन्सेजका डिन डा।राजेन्द्र कोजुले काउन्सिलमा सिट पुनरावलोकन गरिदिन पत्र पठाएका छन् ।

पत्रमा भनिएको छ, ‘कानुनी सल्लाहकारको राय अनुरुप नोबेदल मेडिकल कलेजमा सरकारले तोकेको अधिकतम सिट संख्या एक सय तथा बिराट मेडिकल कलेजमा गतवर्ष कै सिट संख्या ७५ हुन उपयुक्त देखिएकोले नेपाल काउन्सिलमा समेत पुनरावलोकनको लागि पठाउन स्कूल अफ मेडिकल साइन्सेजलाई निर्देशन दिने निर्णय भयो ।’

काउन्सिललाई लेखेको पत्रको बोधार्थ दुबै मेडिकल कलेजलाई समेत दिइएको छ ।

काउन्सिलले मेडिकल कलेजमा अनुगमन गर्दा पाइएको पूर्वाधार, अकुपेन्सी लगायतको आधारमा सीट निर्धारण गरिन्छ । बिगतको भन्दा कमजोर पाइएपछि सीट संख्या घटाइएको काउन्सिलले जनाएको छ ।

सीट निर्धारण गर्न काउन्सिलले निश्चित आधार तय गरिएको हुन्छ । त्यसको आधारमा कति नम्बर पाउछ । जति नम्बर पाउछ, त्यसकै आधारमा सीट तोकिन्छ ।

‘जुन कलेजले आवश्यक पूर्वाधार र आधार पुरा गरेको हुदैन त्यसलाई सीट बढाउन खोज्नु गढबढी भएको छ,’ काउन्सिलका एक सदस्यले भने । (कान्तिपुर दैनिक)