नगरप्रमुखमाथि आक्रमण
रामेछाप –
सोमबार बेलुका बसेको नगर कार्यपालिका बैठकमा काम नभएको योजनाको भुक्तानी माग गरिएको विषयमा भएको छलफलका क्रममा उग्र विवाद भएपछि मन्थली नगर कार्यपालिकाका नगर प्रमुख बस्नेतमाथि आक्रमण भएको हो ।
सो नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले काम नै नगरेको गएको आर्थिक वर्षको योजनाको रकम भुक्तानी हुनुपर्ने माग तेर्स्याएपछि बैठकमा विवाद भएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले काम नभएको योजनाहरूको भुक्तानी दिन नमिल्ले बताएसँगै बैठकमै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको नगरपालिकाले बताएको छ ।
कामै नगरिएको योजनाको भुक्तानी दिन दबाव दिँदै नगर कार्यपालिका सदस्य उद्धव रम्तेल र श्रीबहादुर माझी, वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्की र वडा नम्बर १२ का अध्यक्ष कृष्णहरी अधिकारीले बैठक स्थलमा नेमप्लेट, पानीको बोतल र चियाको गिलासले नगर प्रमुख बस्नेलाई प्रहार गरेका थिए । यो आक्रमणबाट नगर प्रमुख बस्नेतको टाउकामा गम्भीर चोट लागेको छ ।