माया विकको बलात्कारपछि हत्या प्रकरण : मुद्दा दर्ता भएको एक वर्ष बित्दासमेत सुनुवाइ भएन - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

माया विकको बलात्कारपछि हत्या प्रकरण : मुद्दा दर्ता भएको एक वर्ष बित्दासमेत सुनुवाइ भएन



धनगढी । ०७५ असारमा कैलाली गौरीगंगा नगरपालिका–११ की माया विकको सामूहिक बलात्कारपछि हत्या भयो । यस्ता जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुंग्याउनुपर्ने कानुनी व्यवस्था छ । तर, कैलाली जिल्ला अदालतमा दर्ता भएको यो मुद्दामा एक वर्ष बित्दासमेत सुनुवाइ सुरु भएको छैन । गत वर्षको १३ साउनमा पाँचजनाविरुद्ध दर्ता भएको यो मुद्दाको पेसी हालसम्म पाँचपटक स्थगित भइसकेको छ । मुद्दाको सुनुवाइ नै सुरु नहुँदा पीडित परिवारमा निराशा छाएको छ ।

मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९६ अनुसूचीमा ३० मा जबर्जस्ती करणी, घरेलु हिंसा, जिउ मास्ने–बेच्नेलगायत ६ प्रकारका मुद्दालाई निरन्तर सुनुवाइ गरेर टुंग्याउनुपर्ने भनिएको छ । तर, मायाको मुद्दामा दुईपटक वादी पक्षका सरकारी वकिल र तीनपटक प्रतिवादी पक्षका कानुन व्यवसायीको आग्रहमा पेसी स्थगित गरिएको छ । जिल्ला अदालतका नासु कुलप्रसाद जोशीका अनुसार गत २५ पुसमा तोकिएको पहिलो पेसी र २४ माघमा तोकिएको दोस्रो पेसी सरकारी वकिलको आग्रहमा स्थगित भएको थियो । त्यस्तै, गत २३ फागुन, १६ जेठ र १२ असारमा तोकिएको पेसी प्रतिवादीका कानुन व्यवसायीको आग्रहमा स्थगित भएको जोशीले जानकारी दिए । जसका कारण फास्ट ट्र्याकमा टुंगो लाग्नुपर्ने मुद्दामा सुनुवाइ नै सुरु हुन सकेको छैन ।

मायाको सामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा पाँचजनाविरुद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी र अपहरणअन्तर्गत मुद्दा चलिरहेको छ । अभियुक्तहरू गौरीगंगा–११ का गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी पुर्पक्षका लागि थुनामा छन् । आजको नयाँ पत्रीका दैनिकमा धनगढीबाट तेजराज भट्टले यो समाचार लेखेका हुन् ।