मौसम विभागको चेतावनी- आगामी २४ घण्टा खतरा छ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

मौसम विभागको चेतावनी- आगामी २४ घण्टा खतरा छ



काठमाडौं- आउँदो २४ घण्टा भारी वर्षा भई बाढी र डुबान हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टायताको कुरा गर्दा अहिले (बिहीबार बिहान) मधेस, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भइरहेको उनले जानकारी दिइन्।

ठूलो वर्षाको सम्भावना

मौसमविद् मानन्धरका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी तराईनजिक आएको छ, जसले गर्दा पूर्वी भेगमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशको पश्चिमी क्षेत्रतर्फ पनि आज साँझ मनसुनको न्यून चापीय रेखानजिक आउने सम्भावना रहेकाले त्यता पनि वर्षा बढ्ने सम्भावना रहेको उनले जानकारी दिइन्।

अहिले प्रदेश १ देखि लुम्बिनीसम्मका प्रदेशमा भारी वर्षा हुने सम्भावना छ भने पर्सि (शनिबार) पश्चिमतर्फका प्रदेशमा भारी वर्षा हुने सम्भावना देखिएको बताइएको छ ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा जता नजिक हुन्छ, उतै बादल बन्ने र वर्षा हुने क्रम बढ्छ।

आज दिउँसो र राति

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।