आज रातिदेखि ४८ घण्टा मौन समय: के गर्न पाइने, के गर्न नपाइने ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आज रातिदेखि ४८ घण्टा मौन समय: के गर्न पाइने, के गर्न नपाइने ?



काठमाडौं । आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसार सामग्रीसमेत हटाउनु पर्नेछ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन पाइने छैन ।

आयोगका अनुसार निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न पाइने छैन ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने काम गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।

“बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न तथा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन,” आयोगले भनेको छ, “मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन ।”

राजनीतिक दल तथा उमेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन यही मंसिर ४ गते देशभर एकैसाथ हुँदै छ ।