मात्रिका यादवले प्रधानमन्त्री ओलीलाई दिए धन्यवाद - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

मात्रिका यादवले प्रधानमन्त्री ओलीलाई दिए धन्यवाद



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री मातृका यादवले आफूलाई मन्त्रिपरिषदबाट निकालेकोमा नेकपा नेतृत्वलाई धन्यवाद दिएका छन् ।

जारी स्थायी समितिको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बुधवारको छलफलमा बोल्दै यादवले मन्त्रिपरिषद हेरफेरमा असन्तुष्टि जनाएका हुन् ।

यादवले आफूसँग सल्लाह नै नगरी, नसोधी हटाएकोमा धन्यवाद दिएका थिए । स्रोतका अनुसार यादवले भने, ‘प्रधानमन्त्रीले एक पटक पनि मसँग छलफल नगरी मलाई निकाल्नुभयो, त्यसैले धन्यवाद भन्न चाहन्छु ।’

बैठकमा आक्रोशित देखिएका यादवले पार्टी नाममात्रको कम्युनिस्ट पार्टी रहेको आरोप लगाए । ‘यो चिन्ताको विषय बनेको छ,’ उनले बैठकमा भने, ‘पार्टीले मालेमावाद छोड्यो, अहिले मार्क्सवाद र लेनिनवादमा पनि बहस हुँदैछ । यो कम्युनिस्ट पार्टी नै होइन ।’

मङ्सिर ४ गते भएको मन्त्रिपरिषद हेरफेरमा उनलाई मन्त्रीको जिम्मेवारीबाट हटाएर लेखराज भट्टलाई ल्याइएको थियो ।