तयार भयो ओली-नेपालले जारी गर्ने संयुक्त वक्तव्य: एमाले विवाद समाधान - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तयार भयो ओली-नेपालले जारी गर्ने संयुक्त वक्तव्य: एमाले विवाद समाधान



काठमाडौं- सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्युँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि सोमबार साँझ अध्यक्ष ओलीले कार्यदल ब्युँताएका थिए।

त्यसलगत्तै कार्यदलले मस्यौदा तयार गरी दुवै नेताहरूलाई इमेलमा पठाएको हो। सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा दुवै नेतालाई इमेल गरिएको हो। सोमबार कार्यदल ब्युतिएसँग एमालेको विवाद समाधानोन्मुख भएको छ।

यसअघि अध्यक्ष ओली पक्षबाट पाँच र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच गरी १० सदस्यीय कार्यदल बनाइए पनि दुईपटकभन्दा बढी बैठक नबसी निष्क्रिय भएको थियो। रामबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचनमा पराजय भोगेपछि ओलीले कार्यदलको बैठक बस्न नदिई निष्क्रिय बनाएका थिए। जेठ ७ मा बस्ने भनिएको कार्यदल बैठक त्यसपछि बस्न सकेको थिएन। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतलाई कारबाही गरेपछि औपचारिक संवाद टुटेको थियो।

नेपाल पक्षका २३ सांसदले विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल कुनै पनि प्रकारको औपचारिक संवाद भएको थिएन। त्यसअघि कार्यदलको दुईपटकसम्म बैठक बसेको थियो। तर त्यो बैठकमा केही विषयमा पनि सहमति जुट्न सकेको थिएन।

कार्यदल ब्युँतिएपछि सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले यसअघि भएका अनौपचारिक छलफलमा उठेका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय गरेको छ। ‘अनौपचारिक संवादका क्रममा जे–जति प्रगति भएको छ, त्यसलाई लिपिबद्ध गर्ने र ओली–नेपाल दुवै नेतालाई त्यसबारे जानकारी दिएर अघि बढ्ने सहमति भएको छ,’ कार्यदलमा सहभागी पार्टीका सचिव गोकर्ण विष्टले बताए। उनका अनुसार अहिलेसम्म सबै विषय समेटिएकाले पार्टीको विवाद समाधानोन्मुख छ।

आइतबार बिहान ओली पक्षका नेताहरूले नेपाललाई भेटेर पार्टीको विवाद मिलाउन र त्यसको अग्रसरता लिन आग्रह गरेका थिए। उनीहरूले दुवै नेतालाई भेटेर संयुक्त वक्तव्य दिनसमेत आग्रह गरेका थिए। जवाफमा नेपालले ओलीसँग तत्कालै भेटघाट गर्न अरूचि देखाएका थिए भने विवाद मिलाउने भए पुरानो कार्यदल ब्यँुताएर काम थाल्न आग्रह गरेका थिए। त्यसपछि आइतबार साँझ ओलीले भीम रावललाई बोलाएर छलफल गरेका थिए। छलफलमा ओलीले रावलसँग हस्ताक्षर फिर्ताको विषय उठाएको भए पनि रावलले त्यो सम्भव नभएको तर पार्टीभित्रको विवाद मिले अदालतको आदेशलाई कार्यान्वयन गरेर जाने विषयमा आफूहरू सकारात्मक रहेको बताएका थिए। त्यसक्रममा ओलीले आफ्नो पक्षका साथीहरूसँग कुराकानी गर्न पनि सुझाएका थिए।

आइतबार साँझ ओलीसँग भेटघाट भएको त्यहाँ भएको विषयमा थप छलफल गर्न सोमबार बिहान रावल नेपाल निवास कोटेश्वर पुगेका थिए। नेपालसँगको छलफलपछि मात्रै कार्यदल ब्युँतिएर काम सुरु गरेको हो। सोमबारको कार्यदलमा यसअघि अनौपचारिक छलफलमा भएका विषयहरूलाई औपचारिकता दिने सर्वोच्च अदालतमा परेको रिट निवेदन र हस्ताक्षरबारे दुवै पक्ष मौन बस्ने त्यहाँबाट आएको आदेशलाई पार्टी हितमा कार्यान्वयन गर्ने र सहमति जुटाएपछि ओली–नेपाल भेटघाट गरी संयुक्त वक्तव्य दिने विषयमा छलफल भएको थियो।

‘यसअघिकै छलफलमा ओली–नेपालको संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। त्यसमा थप छलफल गर्नुपर्ने र सच्याउनुपर्ने भए मात्र भनेर हामीले कार्यदलका सबै सदस्य र दुई नेताहरूलाई मस्यौदा पठाएका छौं,’ यसअघि अनौपचारिक संवादमा रहेका एक नेताले भने। ती नेताका अनुसार ओलीले केन्द्रीय कमिटीको बैठक रोकेको भए सायद अहिलेसम्म दुई नेता भेटघाट भएर संयुक्त वक्तव्य पनि साइद आइसकेको हुन्थ्यो।

गत बिहीबार राति ओली–नेपालबीच भएको टेलिफोन कुराकानी फलदायी नभएपछि शुक्रबार ओलीले केन्द्रीय कमिटीको बैठक अघि बढाए। सोही बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरूलाई सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नगरेर एमालेको सदस्य हुन नसक्ने भन्दै चेतावनीयुक्त भाषण मात्रै गरेनन्, सोमबारसम्म हस्ताक्षर फिर्ता गर्न परिपत्रसमेत जारी गरे। तर नेपाल पक्षका नेताहरूले पार्टीको आन्तरिक विवाद र सर्वोच्च अदालतमा परेको रिट निवेदन र त्यसमा गरिएको हस्ताक्षरको कुनै सम्बन्ध नभएकाले हस्ताक्षर फिर्ता नहुने र त्यो कुनै सर्त लागु नहुने भन्दै अडान कायमै राखे।

नेपाल पक्षको सो अडानपछि शनिबार पुनः नेपाल र ओलीबीच टेलिफोन संवाद भएको थियो। सो संवादमा ओलीलाई नेपालले केन्द्रीय कमिटीको बैठक रोकेर कार्यदल ब्युँताएर काम गर्न आग्रह गरे पनि ओलीले मानेनन्। आइतबार ओली पक्षका नेताहरूले नेपालसँग कुराकानी गर्दा पनि कार्यदलले ल्याएको प्रस्तावलाई स्वीकार गर्नु नै वैधानिक बाटो भएको बताएपछि ओलीले बाध्य भएर सोमबार कार्यदल ब्युँताएका हुन्।

कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। कार्यदलको बैठक मंगलबार १ बजे पुनः बस्ने भएको छ।

एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफूखुसी आफूनिकटका केन्द्रीय सदस्यहरूलाई मात्रै राखेर बनाएको महाधिवेशन आयोजक कमिटी खारेज भएर साबिकको केन्द्रीय कमिटी बैठक ब्युँताएका छन्। सो कमिटी ब्युताएसँग नेपाललगायत ११ नेतालाई गरिएको कारबाही पनि प्रभावहीन बनेको छ। केन्द्रीय कमिटी ब्युँताए पनि ओलीले पुनः विधि मिचेर बैठक राख्नेलगायत एकतर्फी कार्य गरेपछि नेपालले पक्षले सो बैठकमा सहभागिता जनाएको थिएन। टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।