मसालको नयाँ दिशा : विप्लव माओवादी मित्र, कांग्रेस र राप्रपा शत्रु - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मसालको नयाँ दिशा : विप्लव माओवादी मित्र, कांग्रेस र राप्रपा शत्रु



काठमाडौं । नेपालको एउटा कम्युनिस्ट पार्टीले नेपालका दुबै छिमेकी चीन र भारतलाई साम्राज्यवादी भएको ठहर गरेको छ । मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) को हालै सम्पन्न आठौँ महाधिवेशनले सो ठहर गरेको हो । महाधिवेशनले सिंहलाई नै पुनः महामन्त्री चयन गरेको छ । यसैगरी, महाधिवेशनले २७ पूर्ण र नौ वैकल्पिक सदस्य भएको केन्द्रीय समिति तथा नौ जना सल्लाहकार र दुई सय जना राष्ट्रिय परिषद् सदस्य समेत चयन गरेको छ ।

महाधिवेशनपछि महामन्त्री सिंहद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ,‘‘अन्तर्राष्ट्रिय परिस्थिति वा साम्राज्यवादका स्वरूपबारे विचार गर्दा हाम्रो पार्टी चीन र भारत दुवै देशहरू साम्राज्यवादी भएको निष्कर्षमा पुगेको छ । चीन पहिले समाजवादी देश थियो । तर, त्यहाँ प्रतिक्रान्ति भएपछि त्यो पुँजीवादी देशमा बदलिएको थियो । तर, अब त्यो साम्राज्यवादी देश बनिसकेको छ । भारतलाई हामीले पहिले विस्तारवादी देशको रूपमा नै विश्लेषण गर्दै आएका थियौँ । तर, एकातिर, त्यहाँ विस्तारवादले अरू उच्च र नाङ्गो रूप लिंदै गएकाले र अर्कातिर त्यहाँ एकाधिकार पुँजीवादको धेरै नै विकास भइसकेकाले त्यो साम्राज्यवादी देश बन्न पुगेको छ । भारत साम्राज्यवादी देश भएको हुनाले त्यसका विरुद्धको सङ्घर्षलाई अरू उच्च र व्यापक रूपमा बढाउनुपर्ने आवश्यकता छ । ’’

सो पार्टीले भनेको छ,‘‘त्यसरी भारतीय साम्राज्यवादका विरुद्धको सङ्घर्षमा जोड दिने बेलामा भारत वा त्यहाँका जनतासित मैत्रीपूर्ण सम्बन्ध बढाउनुपर्ने आवश्यकतामा पनि हामीले सँधै जोड दिइराख्नुपर्ने आवश्यकता छ । किनभने कुनै पनि देशका जनता साम्राज्यवादी वा प्रतिक्रियावादी हुँदैनन् र त्यसैले, कुनै देशका प्रतिक्रियावादी शासकहरूका विरुद्ध सङ्घर्षमा जोड दिए पनि त्यहाँका जनतासित घनिष्ट सम्बन्ध राख्ने र त्यहाँको प्रगतिशील वा क्रान्तिकारी आन्दोलनलाई समर्थन गर्ने हाम्रो नीति मात्र होइन, दायित्व पनि हुन्छ । यही सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्त हो । त्यही कुरा भारतका सन्दर्भमा पनि सत्य हो ।’’

‘‘चीन र भारत दुवै साम्राज्यवादी देशहरू भए पनि नेपालको विशिष्ट भूराजनीतिक अवस्थामा उनीहरूप्रति बेग्लाबेग्लै नीति अपनाउनुपर्ने आवश्यकतामा हाम्रो महाधिवेशनले निर्णय गरेको छ । चीन साम्राज्यवादी देश भए पनि त्यसले नेपालप्रति विस्तारवादी नीति अपनाउने गरेको छैन । त्यति मात्र होइन, भारतीय साम्राज्यवादले नेपालप्रति राजनीतिक वा आर्थिक रूपले गर्ने विभिन्न प्रकारका हस्तक्षेप, नाकाबन्दी वा नेपालको राष्ट्रियतामाथि गर्ने अतिक्रमण समेतका विरुद्ध उत्तरमा चीनको उपस्थिति वा त्यससितको मैत्रीपूर्ण सम्बन्धले नेपालका लागि सकारात्मक महत्व राख्दछ भन्ने निष्कर्षमा हाम्रो आठौँ महाधिवेशन पुगेको छ । महाधिवेशनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध र भत्र्सना गर्ने निर्णय पनि गरेको छ,’’ वक्तव्यमा भनिएको छ ।

महाधिवेशनले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, जाति, धर्म र संस्कृतिसम्बन्धी प्रस्ताव तथा पूरक प्रस्तावसहित ६ वटा प्रस्तावहरू पास गरेको जनाइएको छ । महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनमा अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विस्तृत रूपमा व्याख्या र विश्लेषण जारी वक्तव्यमा जनाइएको छ । ‘‘अन्तर्राष्ट्रिय रूपमा यो स्पष्ट गरिएको छ कि विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । तर, त्यसको अर्थ त्यसको आधार र भविष्य नै समाप्त भएको छ भन्ने होइन । आज विश्व पुँजीवादभित्र लगातार बढ्दै गइरहेको आन्तरिक अन्तर्विरोध, आर्थिक सङ्कट, विश्वव्यापी रूपमा नै बढ्दै गएको मजदुर आन्दोलन तथा उत्पीडित राष्ट्रहरूमा साम्राज्यवादका विरुद्ध बढ्दै गएको असन्तोष र राष्ट्रिय मुक्ति आन्दोलनका कारणले त्यसको (विश्वपुँजीवादको) स्थिति धेरै नै कमजोर भएको छ र त्यसले गर्दा विश्व समाजवादी क्रान्तिको लागि वस्तुगत रूपमा क्रान्तिकारी परिस्थिति तयार भएको छ ’’ वक्तव्यमा भनिएको छ,‘‘तर, अर्कातिर क्रान्तिको आत्मगत परिस्थिति धेरै नै कमजोर छ । कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न प्रकारका सैद्धान्तिक भ्रम, विभिन्न देशका कम्युनिस्ट पार्टीमा देखापरेका उग्रवामपन्थी वा दक्षिणपन्थी भड्कावहरू र ती दुवै कारणले कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएकाले आज वस्तुगत रूपमा क्रान्तिका लागि परिस्थिति धेरै नै बलियो भइसकेको भए पनि आत्मगत परिस्थिति धेरै नै कमजोर छ । त्यो अवस्थामा एकातिर कम्युनिस्ट आन्दोलनमा देखापरेका सबै सैद्धान्तिक भ्रम र भड्कावहरूका विरुद्ध सङ्घर्ष गरेर तथा, अर्कातिर कम्युनिस्ट पार्टीहरूको सङ्गठनलाई विस्तार तथा सुदृढ पारेर क्रान्तिको आत्मगत परिस्थिति तयार पार्ने हाम्रो दायित्व हुन्छ । अन्तर्राष्ट्रिय रूपमा र राष्ट्रिय रूपमा पनि त्यसका लागि बढीभन्दा बढी प्रयत्न गर्ने वा योगदान दिने हाम्रो प्रयत्न हुनुपर्दछ ।’’

देशभित्रको राजनीतिक स्थितिलाई पनि महाधिवेशनले विस्तृत र गहन अध्ययन गरेको महासचिवव सिंहले जनाएका छन् । उनका अनुसार नेपालका राजनीतिक शक्तिहरूलाई मसालले तीन भागमा बाँडेर विश्लेषण गरेको छ । प्रथम, सर्वहारावर्गको प्रतिनिधित्व गर्ने पार्टी । द्वितीय, निम्न पुँजीपति वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक सङ्गठनहरू । तृतीय, सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी वा सङ्गठनहरू । त्यो विश्लेषणअनुसार प्रथम प्रकारको शक्ति देशको माक्र्सवादी–लेनिनवादी संगठन भएको र द्वितीय प्रकारका शक्तिहरू देशभक्त जनतान्त्रिक र वामपन्थी शक्तिहरू तथा मित्र शक्तिहरू भएको र तृतीय प्रकारका शक्तिहरू प्रतिक्रियावादी वा दुश्मन शक्तिहरू भएको सो पार्टीले जनाएको छ । त्यसरी ने.क.पा. (मसाल)ले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भएकाले यो माक्र्सवादी–लेनिनवादी पार्टी भएको र क्रान्तिकारी माओवादी, नेकपा (विप्लब), नेपाल मजदुर किसान पार्टी, नेकपा (माले) र नेकपा आदिले निम्न पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने भएकाले तिनीहरू देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा मित्र शक्तिहरू भएको जनाएको छ । नेपाली कांग्रेस, राप्रपा, मधेशवादी आदिले प्रतिक्रियावादी वर्गहरूको प्रतिनिधित्व गर्ने भएकाले तिनीहरू प्रतिक्रियावादी र दुश्मन शक्तिहरू भएको जनाएको छ । तर, यी बेग्लाबेग्लै शक्तिहरूसित हाम्रो सम्बन्ध राजनीतिक स्थितिमा हुने परिवर्तनअनुसार निश्चित हुँदै जाने उल्लेख गर्दै सिंहले नेकपा आदि हाम्रा मित्र शक्तिहरू भए पनि आवश्यकतानुसार उनीहरूसित सङ्घर्ष गर्नुपर्ने तथा प्रतिक्रियावादी वा दुश्मन शक्तिहरूसित पनि एकता गर्नुपर्ने आवश्यकता हुने जनाएका छन् । तर, मित्र शक्तिहरूसित एकता र दुश्मन शक्तिहरूसित सङ्घर्षको पक्ष नै प्रधान हुने जनाउँदै सिंहले नेकपालाई मित्रशक्ति माने पनि त्यो ढुलमुल, अवसरवादी र सम्झौतापरस्त शक्ति नै हो भनेर पनि स्पष्ट गरेको जनाएका छन् ।

‘‘हाम्रो पार्टी यो निष्कर्षमा पुगेको छ कि आजको आधारभूत कार्यक्रम नयाँ जनवादी क्रान्ति नै हो र त्यो पूरा नभइकन जनताका आधारभूत समस्याहरूको समाधान वा वास्तविक अर्थमा पुँजीवादी प्रजातान्त्रिक प्रणालीको पनि स्थापना सम्भव छैन । त्यसैले हाम्रो पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने वा त्यसको लागि आधार तयार पार्नुपर्ने आवश्यकतामा नै मुख्य जोड दिन्छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको लागि सर्वहारा वर्गको पार्टीको नेतृत्व, दीर्घकालीन जनयुद्ध र क्रान्तिकारी संयुक्त मोर्चाहरू अनिवार्य छन् भन्ने हाम्रो दृढ विश्वास छ’’ वक्तव्यमा भनिएको छ,‘‘तर, कुनै खास बेलाको कार्यनीति वा तात्कालिक राजनीतिक लाइन निश्चित गर्दा त्यो बेलाको ठोस परिस्थितिको विश्लेषण गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसरी विचार गर्दा तत्कालको स्थितिमा नयाँ जनवादी क्रान्तिलाई तात्कालिक कार्यदिशा बनाउने वा तुरुन्त सशस्त्र सङ्घर्ष शुरु गर्ने अवस्था छैन र तात्कालिक रूपमा शान्तिपूर्ण जनसङ्घर्ष नै हाम्रो आन्दोलनको प्रधान पक्ष हुन्छ र हुनुपर्दछ भन्ने हाम्रो आठौँ महाधिवेशनको ठहर छ । निश्चय नै जनसङ्घर्ष बेग्लाबेग्लै प्रकारको स्थिति र आवश्यकतानुसार वैधानिक र अवैधानिक दुवै प्रकारका हुन सक्दछन् । त्यसै गरेर पार्टीले बेग्लाबेग्लै प्रकारको स्थिति र आवश्यकतानुसार चुनावको बहिष्कार वा उपयोग दुवै गर्न सक्दछ । तर, अहिलेको स्थितिमा चुनावको उपयोग गर्ने नै हाम्रो नीति रहेको छ ।’’

अहिलेको संविधान वा अहिले देशमा कायम भएको गणतन्त्र अर्धसामन्ती र अर्ध औपनिवेशिक व्यवस्थाअन्तर्गतका र बुर्जुवा प्रकारका भएको जनाउँदै सिंहले भनेका छन्,‘‘ त्यसकारण रणनीतिक दृष्टिकोणले तिनीहरूका विरुद्धको सङ्घर्ष नै प्रधान पक्ष हुनेछ र विद्यमान व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हाम्रो उद्देश्य हुनेछ । तर, कार्यनीतिक दृष्टिकोणले विद्यमान संविधान र गणतन्त्रको रक्षामा जोड दिने हाम्रो नीति छ । अहिले देशमा संविधान, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न देशीय प्रतिगामी र भारतीय साम्राज्यवाद समेत प्रयत्नशील छन् । त्यो अवस्थामा तिनीहरू, अर्थात् विद्यमान संविधान, गणतन्त्र र धमनिरपेक्षताको रक्षाको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । संविधान, गणतन्त्र वा धर्मनिरपेक्षताको रक्षाको लागि सङ्घर्षमा जोड दिने बेलामा संविधानमा व्यवस्था गरिएको सङ्घीयताको विरुद्धको सङ्घर्षलाई लगातार, दृढतापूर्वक र सम्झौताहीन किसिमले अगाडि बढाउने निर्णय महाधिवेशनले गरेको छ ।’’

वक्तव्यमा भनिएको छ,‘‘नेकपालाई हाम्रो पार्टीले कम्युनिस्ट मान्दैन र त्यसैले वर्तमान सरकारलाई पनि कम्युनिस्ट सरकार मान्दैन । तर, नेकपाले निम्नपुँजीपति वर्गको प्रतिनिधित्व गर्ने भएको हुनाले त्यो संगठन र त्यसको नेतृत्वमा बनेको सरकारको चरित्र देशभक्त, जनतान्त्रिक र वामपन्थी प्रकारको छ । त्यसैले हाम्रो पार्टीको महाधिवेशनले वर्तमान सरकारलाई समर्थन गर्ने निर्देशन दिएको छ । तर, त्यसका साथै वर्तमान सरकारको सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्ग, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद समेत प्रतिको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीतिको विरोध गर्ने हाम्रो नीति हुनेछ । त्यसै गरेर हाम्रो महाधिवेशन यो निष्कर्षमा पुगेको छ कि वर्तमान सरकार देशमा बढिरहेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महङ्गी, प्रशासनीय अव्यवस्था आदिमाथि नियन्त्रण गर्न सफल भएको छैन । विकास कार्यहरूलाई अगाडि बढाउन देशमा राष्ट्रिय उद्योगहरूको विकासका लागि ठोस नीति अपनाउन, साम्राज्यवादी वा बहुराष्ट्रिय कम्पनीहरूको बढ्दो प्रभावलाई नियन्त्रण गर्न नागरिकता समेतबारे सही नीति अपनाउन सरकार असमर्थ भएको छ । सरकारका त्यसप्रकारका सबै नीति, कार्यशैली वा क्रियाकलापहरूका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्ने हाम्रो नीति हुनेछ । तर, त्यसो गर्दा वर्तमान सरकारलाई अपदस्थ गरेर प्रतिगामी शक्तिहरूको सरकारको स्थापनाका लागि भइरहेका प्रयत्न वा अभियानबाट आफूलाई अलग राख्ने पनि हाम्रो स्पष्ट नीति हुनेछ ।’’

‘‘देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि पनि गम्भीर खतरा छ । खास गरेर भारतीय साम्राज्यवादबाट त्यसप्रकारको खतरा देखा परेको छ । त्यो स्थितिमा एकातिर देशीय सामन्तवाद र अर्कातिर भारतीय साम्राज्यवादसितको अन्तर्विरोध नै नेपाली जनताको प्रधान अन्तर्विरोध भएको कुरा महाधिवेशनले ठेगान गरेको छ । अन्तर्राष्ट्रिय रूपमा अमेरिकी साम्राज्यवादको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हो । त्यसका साथै दलाल र नोकरशाही पुँजीपति वर्गसित पनि नेपाली जनताका अन्तर्विरोध रहेका छन्’’ वक्तव्यमा भनिएको छ,‘‘ यी सबै प्रश्नहरूमा हामीले आन्दोलन संगठित गर्नुपर्ने आवश्यकता छ । साम्राज्यवादका विरुद्धको सङ्घर्षका लागि अन्तर्राष्ट्रिय संयुक्त मोर्चा बनाउनुपर्ने आवश्यकतामा पनि महाधिवेशनले जोड दिएको छ । मजदुर, किसान र जनताका विभिन्न समस्या र मागहरूका लागि सङ्घर्ष गर्ने पनि ठेगान भएको छ ।’’

महाधिवेशन कहाँ भएको भन्ने सो पार्टीले नखुलाएपनि कार्यक्रममा जर्मनी, बंगलादेश, भारत लगायतका मुलुकका कम्युनिस्ट पार्टीका प्रतिनिधिको पनि संलग्नता रहेको वक्तव्यमा उल्लेख गरेको छ ।