मर्दको वकपत्र ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मर्दको वकपत्र !



✍️  हेमन्त गिरी,टोकियो

छातीमा रौँ
आवाजमा रवाफ
लाज नलाग्न छुट पाएका अङ्ग
तिम्रो भन्दा केही बढी शरीरको बल !
बैनी..
यिनै प्रमाण जुटाएर
आज दाबी गर्दैछु-
म मर्द हुँ !

आमाले तिमीलाई सिकाएको
लिङ्ग ढोग्ने संस्कार !
बाले मलाई सिकाएको
मान्छे पिट्ने वीरता !
समाजले तिम्रो लागि
निर्माण गरेको सुनको पिँजडा !
जमानाले
मलाई गरेको जादुयी जस्टिस !
यिनै नजिर पेस गर्दै
आज दाबी गर्दै छु-
म मर्द हुँ !

जब ज्यान रनक्क तात्छ
जब मगज सनक्क सन्किन्छ
जब प्रेषित प्रमाणहरूले पुग्छ,
लुलो कानुन
अन्धो सरकार

बहिरो समाजले,
म बाँचेको समय
अनि
मलाई दिइएको अधिकार प्रयोग गरी
मनलागि गर भन्छ,
म निर्धक्क बलात्कार गर्छु !
भनिहालेँ नि बैनी,
म मर्द हुँ !

उँखुवारीमा कलिलो योनि
क्षतविक्षत पारेर नपुगी
निर्मलाको संसार नै खोसिँदा पनि
बोलिन म !
आफ्नै घरमा अभिभावकद्वारा
निरन्तर दाह्रा गाडिएर
लास बनेकी पूजा
बाँच्ने आसमा बोलिन् अन्तिम पटक
तर म बोलिन !
जगतका जननीहरूलाई बँचाउन
‘बलात्कारीलाई फाँसी दे’ भन्दै
मुडूलो शिर र आधा शरीर
पेटिकोटले ढाकी
चिच्याइरहिन सावित्री सिंहदरबार वरिपरि
लछार पछार पारिइन नाङ्गो सरकार द्वारा
तैपनि म बोलिन !

खबरदार बैनी !
लाटो रैछ दाजु नभन्नु,मर्द हुँ !
मर्द हुँ, त्यसैले बोल्दिन !
हेर त इतिहास
मर्द धेरै बोल्दैनन्,
मर्दका बैनी हुँदैनन्,चेली हुँदैनन्
दासी हुन्छन्,सुसारे हुन्छन्,साधन हुन्छन् !

एक त्यान्द्रो आसाको धागोमा
विश्वासका केही फुल उनी
मेरो गलामा पहिर्याउने बेला,
एक चिम्टी रहरमा
समानताको रङ्ग घोली
मेरो भाग्यमानी निधारमा टाँस्ने बेला,
कलिला सपनाहरूले
उडान भर्ने आधा आकाशको
रक्षा गरिदेला भनी
मेरो नाडीमा धागो बेर्ने बेला
सोच्दी हौ-
म संसारकै सुरक्षित बैनी हुँ !

तिमीलाई एउटा कुरा भनूँ ?
हर घडी
हर प्रहर
आँखै आँखाले
मनै मनले
म तिम्रा सखीहरूको
बलात्कार गरिरहेको हुन्छु !

म जस्तै मर्द
तयार भएका छन्
तिम्रा सखीहरूको घरमा पनि !

मर्द उत्पादन गर्ने
कारखाना हो बैनी यो समाज !

यो कारखानाले काम
तिमी पेटमै हुँदा देखि सुरु गरिसकेको हुन्छ-
डाक्टरका कैँची र चिम्टा उध्याएर !

कुनै दिन
तिहारको टिका-माला

रक्षा बन्धनको डोरो,
घटनास्थलमा भेटिए
आश्चर्य नमान्नु बैनी !

…म त्यति बेला पनि बोल्ने छैन !