माओवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

माओवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

स्थायी कमिटीकै पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको नेता हरिबोल गजुरेलले जानकारी दिए। बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने तय भएको छ ।

माओवादीले अहिलेसम्म स्थायी कमिटीलाई पनि पूर्णता दिन सकेको छैन्। ४१ सदस्यीय हुनुपर्नेमा हाल जम्मा २५ जना मात्रै चयन भएका छन्। स्थायी कमिटीलाई पूर्णता दिएर आजै पोलिटब्युरो चयन हुने बताइएको छ।

यसअघि बसेको केन्द्रिय समिती बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पोलिटब्युरोको नामावलीमा विवाद भएपछि थाँती राखिएको थियो।

महाधिवेशनपछि बसेको पटक-पटकको केन्द्रिय समिति बैठकले जिम्मेवारी बाँडफाँड टुंग्याउन नसक्दा नेतृत्वलाई दबाब बढेको छ।

नेता हरिबोल गजुरेलले स्थायी र पोलिटब्युरोलाई पूर्णता दिएर मात्रै पदाधिकारीको विषयले प्रवेश पाउने बताए । स्थायी समितिमा थप्न बाँकीमा महिलालाई प्रथामिकता दिइने उनको भनाइ छ।

यस्तै माओवादीले आज जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्काउने निर्णय गर्दैछ। बजेट निमार्णका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप पुष्टि नभएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि जिम्मेवारीमा पठाउने तयारी गरेको हो।

स्थायी कमिटी बैठकले शर्मालाई पुन: जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने नेता गजुरेलले बताए।