माओवादीको रणनीति फेरियो, संघीय निर्वाचनमा एमालेलाई जित्ने तयारी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

माओवादीको रणनीति फेरियो, संघीय निर्वाचनमा एमालेलाई जित्ने तयारी



स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति लिएको छ।

वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने रणनीतिमा माओवादी लागेको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आन्तरिक बैठक र छलफलमा प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससँग मिलेर जानुपर्ने भएकाले एमालेभन्दा ठूलो दलको रूपमा शक्ति आर्जन गर्नेगरी योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिइसकेका छन्।

दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खुमलटारमा भेट्ने क्रममा पनि अहिलेको सत्ता गठबन्धन सफल भएको बताएका छन्।

त्यतिमात्र होइन, सार्वजनिक कार्यक्रममा पनि उनले वर्तमान सत्ता गठबन्धन सफल भएको बताउँदै कांग्रेसको साथ नछाड्ने संकेत गरेका छन्। ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो। मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्‍याउँदै आएका छन्।

‘खासगरी सहरी क्षेत्र नजिक रहेका पालिकामा पनि माओवादीले स्थानीय तहमा सफलता हासिल गरेको छ। यसलाई उपयोग गरेर कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा जानुपर्छ भन्ने अध्यक्ष दाहालको लाइन छ। माओवादी यसै लाइनमा अघि बढ्नेछ,’ माओवादी एक नेताले भने।

माओवादीले काठमाडौं आसपासका नुवाकोट, काभ्रे, मकवानपुरमा पनि केही स्थानीय तहमा सफलता हासिल गरेको छ। त्यसैगरी एमालेको गढ मानिएको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये माओवादी केन्द्रले एमालेकै हाराहारीमा स्थानीय तह जितेको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा लुम्बिनीका ३३ पालिका प्रमुख जितेको कांग्रेसले यसपटक ४६ वटामा प्रमुख जितेको छ।

लुम्बिनीमा अघिल्लोपटक ४३ स्थानीय तहको प्रमुख जितेको एमालेले यसपटक २६ प्रमुख जितेको छ। त्यस्तै माओवादीले २५ पालिकाको प्रमुख जितेको छ। यसबाट माओवादी निकै उत्साही भएको छ।

कांग्रेससँग मिलेर माओवादीले सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पकड देखाएको छ। यसअघि सुदूरपश्चिममा माओवादी निकै कमजोर थियो।