माओवादी केन्द्रको निष्कर्ष- कांग्रेसले धोका दियो, सरकारमा नजाने - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

माओवादी केन्द्रको निष्कर्ष- कांग्रेसले धोका दियो, सरकारमा नजाने



नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले गठबन्धको नाममा धोका दिएको निष्कर्ष निकालेको छ । निर्वाचनमा नराम्रो परिणामपछि नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

माओवादी मात्रै होइन एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले समेत काँग्रेसले धोका दिएको निष्कर्षमा पुगेका छन् । उनीहरूले आफ्ना कार्यकर्ताले इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको निष्कर्षमा पुगेका हुन् ।

चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखे ।

सापकोटाका अनुसार माओवादीसहित अरु दलले मत दिएपनि कांग्रेसले नदिँदा एमाले बलियो भएको । यस्तै माओवादी नेता गणेश साहले गठबन्धनको खास्सै औचित्य नदेखिएको बताए । अब गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने गलत सावित गरेको साहले बताएका छन् ।

त्यतिमात्र होइन माओवादीका केन्द्रीय नेताहरूले अबको पाँच वर्ष सरकारमा नगएर जनतामा जानुपर्ने मत राखेका छन् ।

उत्साहका साथ गठबन्धन गरेर चुनावमा होमिएपनि माओवादी तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ ।

अब पार्टीलाई कस्तो बनाउने र कस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा नेताहरूले आ–आफ्नै सुझावहरू दिन थालेका छन् ।

गत बिहीबार पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले फेसबुकमार्फत पार्टीलाई बलियो बनाउन नौ बुँदे सुझाव दिएका छन् । अबको प्रतिकूलतामा चुनाव लडेर जित्न जमिनमा दाह्रोसँग खुट्टा टेक्नुपर्ने टिप्पणी गरे ।

‘पार्टीका नेताहरूले पिँधका मान्छेहरूको मुद्दा बोक्नुपर्छ, संगठनमा विधि पद्धति चलाउनुपर्छ, राज्यको प्रतिनिधि हुँदा सरल,सस्तो र छिटो डेलिभरी दिनुपर्छ, नेताहरूले चाकरीवाज कार्यकर्ता खोज्नुहुन्न’ न्यौपानेले भनेका छन् ।