माओवादी पदाधिकारी छान्न माघ २७ मा निर्वाचन - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

माओवादी पदाधिकारी छान्न माघ २७ मा निर्वाचन



काठमाडौं- नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने भएको छ। यही माघ २७ गते बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो निर्वाचनबाट टुंगो लगाउने भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एक परिपत्र जारी गर्दै बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्ने उल्लेख गरेका छन्।

माओवादीमा सर्वसम्मतिमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लाग्न नसकेपछि केन्द्रीय समितिबाट निर्वाचन गर्न लागिएको हो।

यसअघि पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा भएको महाधिवेशन केन्द्रीय समिति घोषणा गर्दै सकिएको थियो। त्यसपछिको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई चुनेपनि अन्य पदाधिकारी चुन्न बाँकी छ।

यस्तै, केन्द्रीय समितिको अर्को निर्णय नभएसम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय संगठनहरुको इन्चार्ज यथावत हुने भएका छन्।

बाँकी रहेका प्रदेश समितिहरुले प्रदेश समिति र पदाधिकारीलाई निर्वाचनबाट पूर्णता दिन निर्देशन दिइएको छ। यसैगरी, माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनका लागि आआफ्नो ठाउँबाट लाग्न निर्देशन दिइएको छ।

आगामी वर्षलाई निर्वाचन वर्ष भनिएकाले त्यसका निम्ति आवश्यक अध्ययन, विश्लेषण र योजना निर्माणमा लाग्न माओवादी पंक्तिलाई आग्रह गरिएको छ।