माओवादी महाधिवेशन: निर्वाचनबाट नेतृत्व छान्ने तयारी - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादी महाधिवेशन: निर्वाचनबाट नेतृत्व छान्ने तयारी



काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतवार दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ।

राष्ट्रिय सम्मेलनलाई शनिबार महाधिवेशनमा रुपान्तरण गरेको माओवादीले यो महाधिवेशनबाट २९९ जनाभन्दा बढीको केन्द्रीय कमिटी बनाउने भएको छ।

माओवादी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका छन्।

प्रस्ताव पेश भए पनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएकाले त्यसमाथि महाधिवेशनमै छलफल गरिने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उनले नयाँ नेतृत्वका लागि महाधिवेशनमा केन्द्रको तर्फबाट प्यानल प्रस्तुत गरिने बताए।

महराले यदि सहमति हुन नसकेमा निर्वाचनमा जाने बताएका छन्।

‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ। केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला’, महराले पेरिस डाँडामा भने, ‘त्यसमा असहमत भएका साथीहरुले आफ्नो मत राख्न सक्नुहुन्छ। सहमति भयो भने निर्वाचनमा जाँदैन। सहमती भएन निर्वाचनबाटै नेतृत्व छानिन्छ।’

माओवादी केन्द्रले सबै राजनीतिक दललाई महाधिवेशनमा निमन्त्रणा गरेको जनाएको छ।

कोभिड-१९ को कारण देखाउँदै विदेशी पाहुना बोलाइएको छैन। महाधिवेशन ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए।

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आइतवार दिउँसो ३ बजे काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा उद्घाटन हुँदैछ।