किशोरीलाई अश्लिल म्यासेज पठाउने माओवादी केन्द्रीय सदस्यमाथि कारबाही - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

किशोरीलाई अश्लिल म्यासेज पठाउने माओवादी केन्द्रीय सदस्यमाथि कारबाही



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले कारबाही गरेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि बजगाईंलाई केन्द्रीय समितिबाट निलम्बन गरेर छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

बजगाईंले माओवादी केन्दकै भातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरी कार्यकर्तालाई फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको पाइएपछि निलम्बन गरिएको हो । अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा रहेकी ती किशोरीले आफूमाथि दुव्यर्वहार भएको भन्दै संगठन र माओवादी केन्द्रको तल्ला कमिटीमा निवेदन दिएकी थिइन् ।

किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको हो ।

माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारीको बैठकले बजगाईंलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको हो ।

‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अखिल क्रान्तिकारीमा कार्यरत एकजना महिला कमरेडको निवेदन र अश्लिल म्यासेजहरुको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा बजगाईंलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको छ,’ माओवादीको आन्तरिक परिपत्रमा भनिएको छ, ‘त्यस सम्बन्धमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी १० दिनभित्र लिखित प्रतिवेदन पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’