बन्दसत्रमै नारायणकाजी पक्षले दादागिरी देखाएपछि... - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बन्दसत्रमै नारायणकाजी पक्षले दादागिरी देखाएपछि…



काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकै बेला पार्टीमा नयाँ विवाद सुरू भएको छ । खासगरी नारायणकाजी श्रेष्ठ समूहका नेता गिरिराजमणि पोखरेलमाथि प्रदेश २ समूहले गम्भीर आरोप लगाएपछि विवादले उग्र रुप लिएको हो ।

महाधिवेशनको तेस्रो दिन रामवृक्ष यादव‘माड्साव’को सालिक हटाएको विषयमा भएको विवादले उग्र रुप लिएको छ । प्रदेश २ बाट सत्यनारायण भगतले समूहको तर्फबाट रिपोर्टिङ गर्ने क्रममा गिरिराजमणि पोखरेललाई सालिक हटाउनु राजनीतिक अपराध गरेको संगिठन आरोप लगाए। त्यसपछि नारायणकाजी समूहका नेता पोखरेलले उदण्ड मच्चाए ।

महाधिवेशनको पाँचौं दिन बिहीबार त्यही विषयलाई लिएर नारायणकाजी र गिरिराजमणिको उक्साहटमा उनी पक्षका नेताहरूले बन्दसत्र नै चल्न दिएनन् । गिरिराजमणि माथि लगाइएको आरोप फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिँदै विवादलाई उग्र रुप दिने काम भयो ।

विरोधकैबीच पोखरेल समर्थकले हस्ताक्षर समेत संकलन सुरु गरेका थिए। विवादले थप ठूलो रुप लिने देखेपछि केहि नेताहरूले त्यसलाई साम्य पार्न निकै कसरत गरे । केहि उपाय नचलेपछि प्रवक्ता कृष्णबहादुर महरा अगाडी सरे। दुवै समूहसंग छलफल गरेपछि अन्त्यमा भगतले आफूले दुईवटा शब्द फिर्ता लिन सहमत भए । भगतले राजनीतिक अपराध गरेको शब्द फिर्ता लिएर दोषी भन्ने शब्द राख्न सहमत भएपछि बन्दसत्र चलेको थियो।

बन्दसत्रमा माओवादीको नेतृत्वमा रहेका विभिन्न नेताहरूलाई विभिन्नखाले आरोप लागिरहेका छन् । तर नेताहरूले त्यसबारे चासो दिएका छैनन् तर, नारायणकाजी समूहले भने यसलाई इगोको रूपमा लिएको माओवादीकै नेताले बताएका छन् । अध्यक्ष प्रचण्डले समेत आफूले आत्मालोचना गरेको महाधिवेशनमा उनीहरूले सामान्य शब्द समेत पचाउन नसकेको ति नेताको आरोप छ ।

शब्द फिर्ता लिएपनि त्यो सालिक हटाएको विषयमा विवाद यथावत भएको एक प्रतिनिधिले बताए । हामीले रामवृक्ष यादवको सालिक हटाएको विषयमा गिरिराजमणि दोषी हुन् भन्ने विषय यथावत छ । पोखरेलको निर्देशनमा सालिक हटाउनु राजनीति अपराध भन्ने शब्द फिर्ता गरेर दोषी भन्ने राखेको उनले बताए । रामवृक्षको सालिकको उचित न्याय हुनुपर्छ भन्ने विषयको मुद्दा झनै जोडतोडले उठ्ने उनले बताए ।

बन्दसत्रमा रहेका एक नेताले यो घटना पार्टीमा सामान्य नभएको बताएका छन् । उनले बन्दसत्रमा नारायणकाजी र गिरिराजमणिको चर्को आलोचना भएकाले उनीहरूले पचाउन नसकेको समेत बताए । आफ्नो समूह धेरै साइडबाट पेलिएको पत्तो पाएपछि उनीहरूले उदण्ड व्यवहार प्रस्तुत गरेको ति नेताको दाबी छ । उनले नारायणकाजी समूहले बन्दसत्रमा दादागिरी देखाउन खोजेको समेत आरोप लगाए ।

के हो रामवृक्ष को सालिक प्रकरण ?

महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित खयरमारामा तत्कालीन माओवादीले रामवृक्ष स्मृति ब्रिगेड अस्थायी क्याम्प खडा गर्‍यो। त्यहाँ माओवादीका ‘जनमुक्ति सेना’ले आश्रय लिए।

सेना समायोजन भएपछि अस्थायी क्याम्प सरकारको मातहात आयो। त्यही अस्थायी क्याम्पमा केपी ओली नेतृत्वको सरकारमा भएका बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरे।

निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएपछि त्यहाँ भएको रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको सालिक खडा भयो। त्यसपछि विवाद निम्तियो। आस्थाको धरोहर मानिने रामवृक्षको सालिक हटाएर किन फालियो भन्दै विरोध जनाइयो। त्यो विषय अहिले पनि यथावत नै छ। पुनः महाधिवेशनको तेस्रो दिन समूहका तर्फबाट सत्यनारायण भगतले गिरिराजमणि पोखरेललाई सालिका हटाउनु राजनीतिक अपराधको आरोप लगाएपछि विवाद भयो।

अहिले पनि त्यहाँ निर्मल लामाको सालिक राखेपछि रामवृक्ष यादवको सालिक अलपत्र छ। त्यस विषयमा माओवादीभित्र समय समयमा विवाद हुने गरेको छ।

तत्कालीन राज्य पक्षले मा‌ओवादीका केन्द्रीय सदस्य यादवलाई २०५१ साल भदौ १ गते राति पार्टीको कार्यक्रम सकेर घर फर्किने क्रममा जनकपुरमा हत्या गरेको थियो। उनको हत्यामा संलग्न अझैसम्म पत्ता लागेको छैन। उनको स्मरणमा माओवादीले हरेक भदौ २ गते रामवृक्ष यादव स्मृति दिवस मनाउँदै आएको छ।