माओवादीको महासचिव: प्रचण्ड र पार्टीको रोजाइमा को पर्ला ? - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादीको महासचिव: प्रचण्ड र पार्टीको रोजाइमा को पर्ला ?



काठमाडौं- संसद्‌मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु लागेको छ।

नेपाली कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति देखिए माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आकलन गर्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा गरेका छन्।

पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको माओवादी नेता र जानकारहरूको भनाइ छ।

माओवादी वृत्तमा पार्टीको अध्यक्षभन्दा पनि त्यसपछि शक्तिशाली मानिने महासचिव पदमा को आउँछ भन्ने विषयमा धेरैको चासो छ।

पुस ११ गतेदेखि १५ सम्म काठमाण्डूको प्रज्ञाभवनमा १,५०० प्रतिनिधिको उपस्थितिमा हुने राष्ट्रिय सम्मेलनले यसअघि जस्तै अध्यक्ष मात्रै चयन गरेर बाँकी पदाधिकारी चयन थाती राख्न सक्ने आशङ्का पनि कतिपयले गरेका छन्।

माओवादीको अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि सहमति हुन नसकेपछि पदाधिकारी पछि चयन गरिएको थियो।

के माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने छैनन् ?

तीन दशकदेखि पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको माओवादी नेता राम कार्की बताउँछन्।

“त्यो [पार्टी अध्यक्ष फेरिने] स्थिति देख्दिनँ। त्यो हुनुपर्थ्यो, भएन। कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन,” सम्मेलनबाट नेतृत्व परिवर्तनको सम्भावनाबारे सोधिएको प्रश्नमा कार्कीले भने।

माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको कार्कीको दाबी छ।

विगत १५-२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको भन्दै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए।

“नेता भनेको कहिले पनि अंश दिएर हुने होइन। त्यसरी त शिष्य मात्रै हुन्छन्, नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ। विचारधारात्मक छलफल जहाँ हुन्छ त्यहाँ नेता आउँछन्,” कार्कीले भने ।

यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए।

दशवर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन् ।

दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तरविरोध पछि एक दशकअघि अलग पार्टी गठन गरे।

वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन्।

माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन्।

किन हुन सकेन माओवादीमा जिम्मेवारी हस्तान्तरण ?

प्रचण्डका समकक्षी नेताहरू माओवादीबाट बाहिरिँदा माओवादीमा प्रचण्डपछिको नेतृत्वका उत्तराधिकारी बन्न नसकेको बताइन्छ।

महाभारतको एउटा प्रसङ्गको उदाहरण दिँदै माओवादी नेता कार्की नेतृत्वले पनि पार्टीको जिम्मेवारी हस्तान्तरणको नीति नलिएको बताएका छन्।

“महाभारतमा पनि भीष्मलाई ढालेपछि नै अर्जुन सर्वश्रेष्ठ रूपमा अगाडि आए। हुन त आफू ढल्ने तरिका उनले (भीष्मले) स्वयम् अर्जुनलाई बताएका थिए,” कार्की भन्छन्।

“हामीले पनि युवापिँढीलाई बताइदिनुपर्छ हामीलाई प्रतिस्थापन गर्ने विधि यो हो…। त्यो पनि चाकरी गरेर होइन की वैचारिक बहस गरेर।”

यसअघि हेटौँडामा भएको महाधिवेशनमा प्रचण्डको उत्तराधिकारी चयन गर्ने चर्चा भए पनि प्रचण्डपछि दोस्रो तहका नेताहरूले उत्तराधिकारीमा एक अर्कालाई स्वीकार नगरेका कारण त्यो योजनाबाट माओवादी पछि हटेको थियो। बीबीसी