अब माओवादीका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अब माओवादीका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने



काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने प्रस्ताव अगाडि सारेका छन्।

आठौं महाधिवेशनमा आफूले राखेको राजनीतिक प्रतिवेदनमाथि आएका प्रश्न तथा सुझाव सुनेपछि आज स्पष्टीकरण दिएका अध्यक्ष प्रचण्डले नेताहरू गाउँ जानुपर्ने बताए। ‘अब केन्द्रीय सदस्यले काठमाडौं बस्न पाउने छैनन्, हामी सबै गाउँ जाने हो,’ प्रचण्डले भने।

प्रचण्डको प्रस्ताव पारित भएमा प्रतिनिधि सभा सांसदबाहेक केन्द्रीय सदस्यहरू जिम्मेवारी लिएका क्षेत्र (गाउँ) मै जानुपर्ने हुन सक्छ। साथै प्रचण्डले तीनै तहका निर्वाचनपछि पार्टीले विशेष महाधिवेशन गर्न सक्ने पनि बताएका छन्।

‘तीन तहका निर्वाचनपछि विशेष महाधिवेशनमा जाने हो। विचार र बहसलाई त्यहाँ पुगेर पूर्णता दिने हो। यो सुरूवात हो पूर्णता होइन,’ उनले भने। उनले पार्टीका दस्तावेजहरूमा पूर्वीय दर्शन र बुद्धका कतिपय प्रगतिशील विषय समेट्ने पनि बताएका थिए।

एमसिसीबारे प्रचण्डले प्रतिवेदनमा उल्लेख गरिएकै विषय भएको दोहोर्‍याएका थिए। प्रचण्डले संशोधनसहित एमसिसी पारित गर्न सकिने धारणा राख्दै आएका छन्।

प्रचण्डले महाधिवेशनमा राखेको राजनीतिक प्रस्तावमाथि माओवादीले २५ समूह बनाएर छलफल गरेको थियो।