माओवादीको कर्मकाण्ड: कामै नभएका ७ उपाध्यक्ष र २ उपमहासचिव राखिने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादीको कर्मकाण्ड: कामै नभएका ७ उपाध्यक्ष र २ उपमहासचिव राखिने



काठमाडौं- नेताहरूको व्यवस्थापनमा समस्या भएपछि नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरेको छ । विधान संशोधनमार्फत पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कमिटीमार्फत महाधिवेशनमा लैजान लागिएको हो ।

माओवादीले एक वरिष्ठसहित उपाध्यक्षको संख्या ७ बनाउन प्रस्ताव गरेको छ भने २ उपमहासचिव र ३ जना सचिवको व्यवस्था गर्न विधानमा प्रस्ताव गरेको छ । यसअघि माओवादी विभाजन नभएको समयमा तीन जना उपाध्यक्ष थिए । मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्ष थिए ।

वरिष्ठ उपाध्यक्षको पद नभए पनि प्रचण्डपछि वरीयता क्रममा वैद्य, त्यसपछि बाबुराम र नारायणकाजी थिए । रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि माओवादीमा महासचिव रिक्त थियो ।

माओवादीले पहिलोपटक विधानमा उपमहासचिव राख्न प्रस्ताव गरेको छ । नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनबाट तीन उपमहासचिवको व्यवस्था गरिएको थियो । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपमहासचिवको व्यवस्था गरेको छ ।

‘पदाधिकारीमा आकांक्षी धेरै भएका कारण पदाधिकारीको संख्या बढाउने प्रस्ताव भएको छ, महाधिवेशनको हलबाट अनुमोदन भएपछि मात्र लागू हुन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

माओवादीमा अहिले १६ जना स्थायी कमिटी सदस्य छन् । सबै नेतालाई पदाधिकारीमा समेट्ने गरी विधान संशोधनको प्रस्ताव जान लागेको हो । विधान संशोधन प्रस्ताव पारित भएपनि सबै पदमा महाधिवेशनबाट निर्वाचित नहुने सम्भावना रहेको ती सदस्यले बताए ।

वरिष्ठ उपाध्यक्ष भने नारायणकाजी श्रेष्ठलाई बनाउने तयारी भएको माओवादी स्रोतको दाबी छ ।

माओवादीको आठौं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू हुँदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनिएकोमा माओवादीले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्न लागेको हो ।