माओवादीका १० जना सबैभन्दा धनाढ्य नेता को-को हुन् ? - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादीका १० जना सबैभन्दा धनाढ्य नेता को-को हुन् ?



काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र रोचक बनेको छ । बन्दसत्रमा नेताहरूले नेतृत्वको राम्रै आलोचना गरेका छन् । कतिपयले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि काउन्टर प्रस्ताव समेत गरेका छन् ।

२५ वटा टोली बनाएर सुरू गरिएको छलफलको निष्कर्ष सुनाउँदै नेताहरूले विभिन्न मागहरू समेत राखेका छन् । बन्दसत्रमा सबैभन्दा बढी माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ । पार्टी मध्यम र धनाढ्य वर्गको चंगुलमा फस्दै गएको र नेताहरूले अकूत सम्पत्ति आर्जन गरेको आरोप लागिरहेका बेला सम्पत्ति छानबिनको मुद्दा चर्किएको छ ।

तीन दिनदेखि जारी बन्दसत्रमा बिहीबार बोलेका महाधिवेशन प्रतिनिधिहरुले पार्टीलाई पुँजीपतिहरूले कब्जा गर्दै लगेकोमा चिन्ता ब्यक्त गरे । उनीहरुले नेताहरुको अस्वभाविक जीवनशैलीलाई लिएर नेतृत्वमाथि प्रश्न समेत उठाए । कतिपयले मन्त्री बनेका नेताहरूको मात्रै होइन उनीहरूका पिएहरूको समेत सम्पत्ति छानबिन गर्नुपर्ने माग राखे ।

बिहीबारको बन्द सत्रमा समूह २२ (बागमती प्रदेश) को तर्फबाट सुझाव दिँदै टोली नेता इन्द्रबहादुर थिङ `छिन्ताङ’ले नेताहरुको जीवनशैलीमाथि प्रश्न उठाएका थिए । थिङले माओवादीभित्र समानस्तरका नेताहरुका जीवन शैलीमा देखिएको असमानताबारे प्रश्न उठाए । त्यतिमात्र होइन उनले नेताहरुमा देखिएको विलाशी जीवनशैलीबारे नेतृत्वले जवाफ दिन सक्नुपर्ने समेत बताए।

बिहीबार सुझाव दिने केही नेताहरुले पनि पार्टीमा आवद्ध १० धनाढ्य नेताहरुको नाम सार्वजनिक गर्न माग गरे। पार्टी शान्ति प्रक्रियामा आएपछि धनी भएका माओवादी नेताहरुको पनि सूची सार्वजनिक गर्न प्रस्ताव पेश भएको छ । समूहगत रुपमा उठेको सुझाव राख्दै लुम्बिनी प्रदेश ‘ख’बाट नेता सुदर्शन बरालले शान्ति प्रक्रियामा आएपछि माओवादीका नेताहरु पनि धनी भएका छन्। ती १० धनाढ्य नेताको नाम उल्लेख गर्न नेताहरूले मौखिक सुझाव दिएको बताए।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत रुपमा उठेका सुझाव दिने क्रममा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले केन्द्रीय नेताहरूले समानुपातिक सूचीमा बस्नेदेखि लाभको पदमा एक परिवारबाट एकजना मात्र बस्न पाउने व्यवस्था गर्न माग गरिन् । त्यसका अलावा उनले एक व्यक्ति दुई पटक भन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था गर्न समेत माग गरिन् ।

त्यसैगरी विभिन्न लाभको पदमा पुगेका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग भएको छ।​ पार्टीको तर्फबाट लाभको पदमा पुगेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग यसअघि उठेको थियो।

राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै उक्त माग लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट उठेको थियो।

उता बिहीबर नै सुदूरपश्चिम प्रदेशको तर्फबाट नेता मानबहादुर धामी ‘सन्तोष’ ले सुझाव राख्ने क्रममा जनयुद्धका क्रममा भएका गल्तीका लागि पार्टीले आत्मालोचना गर्नुपर्ने बताएका थिए। यो समूहले मालिकदेखि मजदुरसम्म एउटै पार्टीमा हुँदा कसले कसका लागि संघर्ष गर्ने भन्ने प्रश्न उब्जिने पनि बताएका छन्।

माओवादी केन्द्रको आइतबारदेखि जारी महाधिवेशनको बन्द सत्र बिहीबारबाट सकिएको छ। अध्यक्ष प्रचण्डले सोमबार ४५ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।