माओवादी प्रतिनिधिको चिन्ता: प्रचण्डले महरालाई महासचिव बनाए भने समाजमा कसरी मुख देखाउने ? - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादी प्रतिनिधिको चिन्ता: प्रचण्डले महरालाई महासचिव बनाए भने समाजमा कसरी मुख देखाउने ?



काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१ औं सताव्दीमा नेपाली समाजवादको बाटो’ नामक राजनीतिक प्रतिवेदन ओलोचना, फरक मत र सुझाव आउने क्रम जारी छ । २५ समूहमा बाँडिएका महाधिवेशन प्रतिनिधिले आफ्नो सुझाव दिएका छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले प्रचण्डपथ, समाजवादको नयाँ कार्यक्रम मात्र होइन, प्रचण्डको नेतृत्वको समर्थन पनि गरेका छन् । माओवादी पार्टीका दोस्रो तहका कुनै पनि नेताले अध्यक्षको दाबी नगरेकाले महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्ष हुने कुरा निर्विकल्प देखिएको छ ।

प्रचण्डले पेश गरेको दस्तावेजबाट सहभागी प्रतिनिधि उत्साही देखिएका छन् । दस्तावेजले नयाँ विचारको आधार तयार गरेकाले महाधिवेशनबाट विचार र कार्यक्रम लिएर फर्कन पाइने कुराले प्रतिनिधि उत्साही भएका हुन् । तर, प्रचण्ड पछिको दोस्रो शक्तिसाली पद महासचिव कसले पाउला भन्ने कुराले सहभागी नेता कार्यकर्ता पिरोलिएका छन् ।

महाधिवेशन हुनु भन्दा अघि नै महासचिवमा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकर र अर्का नेता वर्षमान पुन अनन्तको चर्चा थियो । शर्मा र पुन दुबै जना जनमुक्ति सेनाको नेतृत्व सम्हालेका व्यक्ति हुन् । दुबै जना पटक पटक मन्त्री र पार्टीको जिम्मेवारी सम्महालेका अनुभवी व्यक्ति मानिन्छन् । त्यसो त उर्जा मन्त्री पम्फा भुसालले पनि महासचिवमा दाबी गरेकी छन् । शर्मा र पुनले भने प्रचण्ड पछिको नेता हुन आआफ्नो समूह सक्रिय बनाउँदै आएका छन् ।

शर्मा संगठन विभाग प्रमुख र पुन केन्द्रीय कार्यालयको जिम्मेवारी सक्रिय छन् । पुन उपचारका लागि चीन गएका छन् भने शर्माले अर्थ मन्त्रालय सम्हाल्दै आएका छन् । पुन कूटनीतिक शैलीमा कुरा गर्ने स्वभावका छन् भने शर्मा हक्की स्वभावका छन् ।

शर्मा र पुनको खैलाबैलामा महराको दाउ
महाधिवेशन अघिदेखिनै शर्मा र पुनले प्रचण्ड पछिको पद दाबी गरेका थिए । दुबै नेताले आफूलाई त्यही अनुसार तयारी पनि गरेका छन् । तर, महाभिवेशन स्थलमा शर्मा र पुन होइन, पूर्व सभामुख एवम् माओवादी प्रवक्ता कृष्णबहादुर महराको नाम पनि चर्चामा छ । महासचिवमा महराको नाम आएसँगै सहभागी प्रतिनिधिमा चिन्ता छाएको छ । महरालाई मञ्चमा राखेर कसरी पार्टी कसरी उँभो लाग्छ ? केही सहभागीको प्रश्न गरेका छन् ।

सहभागी प्रतिनिधि शर्मा र पुन मध्ये एक जना महासचिव हुने कुराले होइन, महरा हुने चर्चाले पिरोलिएका छन् । महरा यौन काण्डमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । अदालतबाट सफाइ पाएपनि महरा शक्तिहीन जस्ता देखिएका छन् । उनको शीर ठाडो हुन सकेको छैन । नूर गिरेका महरालाई मञ्चमा राखेर गाउँ गाउँमा कसरी पार्टी बनाउनु रु एक सहभागी प्रतिनिधिको प्रश्न थियो । उनको भनाइमा सहमति जनाउँदै अर्का एक प्रतिनिधिले महरा महासचिव हुने हो भने माओवादी पार्टीको महिलाप्रतिको दृष्टिकोणमै समस्या आउने बताए ।

प्रचण्डले महरालाई अघि सारे भने बिद्रोह नै नहोला तर सबै सन्तुष्ट हुन सक्ने अवस्था हुँदैन । तर, शर्मा र पुन मध्ये एक जना महासचिव भए त्यसमा ठूलो आपत्ति नहुने सहभागीको बुझाइ छ । शर्मा र पुन मध्ये एक जनालाई महासचिव बनाउँदा पार्टी गुटबन्दी हुन सक्ने भन्दै प्रचण्डको रोजाइमा महरा पर्न सक्ने सम्भावना रहेको छ । हुन त प्रचण्डले महासचिव कसलाई बनाउने भन्ने विषयमा मुख खोलेका छैनन् । तर, धेरै प्रेसर भए महरा छनोटमा पर्न सक्ने अवस्था नहोला भन्न सकिन्न ।

नेकपा विभाजन पछि नेकपा माओवादी केन्द्रमा सांगठानिक संरचनामा केही फेरबदल भएको छ । टोल, वडा, पालिका, प्रदेशमा नयाँ नेतृत्व छनोट भएका छन् । आठ लाख पार्टी सदस्य भएका छन् । माओवादी नेतादेखि कार्यकर्ता नयाँ बनेका कमिटी र सदस्य संख्याले उत्साहित छन् । यस्तो अवस्थामा ‘महरालाई महासचिव बनाउनु पुसको जाडोमा चिसो पानी खन्याए सरह ’ हुने एक प्रतिनिधिले टिप्पणी गरे ।

नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा लगायत केही साना राजनीतिक दलले एक महिना यता महाधिवेशन सम्पन्न गरेका छन् । खासगरी एमाले, काँग्रेस, राप्रपाको महाधिवेशनमा नेतृत्व छनोटको विषय चर्चा र बहसको विषय बन्यो । एमालेले आंशिक निर्वाचन गर्यो भने काँग्रेस र राप्रपाले नेतृत्व छनोटका लागि पूर्ण निर्वाचन प्रणाली अपनायो । उनीहरुका महाधिवेशनमा विचार भन्दा नेतृत्वको बहस बढी भएकोले त्यसको आलोचना भएको थियो । तर, माओवादीको महाधिवेशनमा केही विचारको बहसले प्राथमिकता पाएको छ । यसले कार्यकर्तामा उत्साह ल्याएको छ ।

तर, माओवादीले नेतृत्व छनोटमा सजगता अपनाएन भने अहिलेसम्मको उत्साह खेर जानसक्ने सम्भावना रहेको सहभागीको भनाइ छ । त्यसमा पनि महरा जस्तो यौन विवादमा मुछिएका व्यक्तिलाई पार्र्टीको बागडोर सुम्पिए, त्यही विषय आलोचनाको केन्द्र हुन सक्छ । महराले अदालतबाट सफाइ पाएपनि यौन काण्डको दाग कहिल्यै मेटिन नसक्ने महाधिवेशनमा सहभागी एक महिला नेतृको टिप्पणी छ ।

महाधिवेशनबाट महरालाई नेतृत्वमा पुनःस्थापित गरे माओवादीले त्यसको क्षति व्यहोर्नु पर्ने नेता कार्यकर्ताको भनाइ छ । यौन काण्डमा मुछिएका व्यक्तिले आन्दोलनको नेतृत्व गर्न नसक्ने बरु आन्दोलन नै बदनाम हुन सक्ने सहभागीको टिप्पणी छ । महरा महासचिव भए अब हुने निर्वाचनमा माओवादीले महिला अधिकारको कुरा कसरी गर्ला ? महराले महिलासँग कसरी मत माग्लान् ? लगायतका प्रश्नको उत्तर माओवादी नेतादेखि कार्यकर्ताले दिनु पर्ने हुन्छ ।

प्रचण्डको दस्तावेजमा यौनको आलोचना
प्रचण्डले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीले अवलम्बन गर्नुपर्ने तात्कालिन नीति, योजना र कार्यक्रमबारे बुँदागत रुपमा खुलाएका हुन् । पार्टी सुदृढीकरण र विस्ताको अभियानलाई नियमित रुपमा सञ्चालन गर्दै सांस्कृतिक रुपान्तरणमा जोड दिएका छन् । प्रचण्डले आफ्नो दस्तावेजको तात्कालिन नीतिअन्र्तगत सात नम्बर बुँदामा सांस्कृतिका रुपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त भनेका छन् ।

‘पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क, सम्बन्ध, जीवन पद्धति, लवाइ खुवाई, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता, कार्यकर्ता र जनताका बीचको सम्वन्ध, वैयक्तिक सामुहिक र सार्वजनिक जीवन आदिका रुपमा पार्टी सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको हुन्छ’, प्रचण्डले सांस्कृतिक रुपान्तरणलाई जोड दिँदै भनेका छन् ।

सोही बुँदामा प्रचण्डले यस सवालमा अन्य पार्टी भन्दा आफ्नो पार्टीमा फरक नरहेको भन्दै कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो रहेको बताएका छन् । ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो छ’, यसलाई बदल्न नसके क्रान्तिकारी पार्टी नबन्ने प्रचण्डको भनाइ छ ।

‘यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रािन्तकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रुपान्तरणको विषयलाई प्रत्यक कमिटीले विचार, राजनीतिक, संगठन र आचरणको तहबाट गम्भीर बहस छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनावद्ध पहल गर्नुपर्दछ ।’

प्रचण्डले दस्तावेजमा सांस्कृतिका रुपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त भने कुरालाई कत्तिको व्यवहारमा लागू गर्छन् । प्रचण्डले आफैँले समिक्षा गरेर कमजोरी औल्याएका विषयमा अडिन्छन् वा सांस्कृतिक विचलनको आरोप लागेका महरालाई नेतृत्वमा ल्याउँछन्, त्यो भने महाधिवेशनको नेतृत्व छनोटको समयसम्म कुर्नु पर्ने हुन्छ ।