मन्त्रीको निर्देशनमा म्यानपावरका कर्मचारी पक्राउ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मन्त्रीको निर्देशनमा म्यानपावरका कर्मचारी पक्राउ



काठमाडौं : वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन्। कतार जाने कामदारबाट ९५ हजार रुपैयाँ लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा विभागको टोलीले उक्त ओमरसिज कार्यालयबाट कर्मचारीलाई रकम लिँदालिँदै गरेको अवस्थामा दिउँसो ४ः३० बजेतिर पक्राउ गरेको हो।

‘कतारमा फ्री भिसा, फ्री टिकट भएकाले वैदेशिक रोजगारमा कतार जाने कामदारबाट १० हजारभन्दा बढी रकम लिन पाइँदैन’, निर्देशक थापाले भने, ‘तर उक्त ओभरसिजले ९५ हजार रुपैयाँ लिन थालेको सूचना पाएर हामी पुग्दा रकम कामदारबाट लिँदै गरेको अवस्थामा पक्राउ गर्यौं।’

फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा रु १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ। निर्देशक थापाले ओभरसिजका सञ्चालक विदेशमा रहेकाले आएपछि अनुसन्धान गर्ने बताए।