मन्त्रीका सल्लाहकार नै बलात्कारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मन्त्रीका सल्लाहकार नै बलात्कारी



काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कारको अभियोगमा पक्राउ परेका छन्।

किशोरीलाई चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा घले पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। घले फागुन १ गते पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।

उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सिन्धुलीबाट काठमाडौं आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी ति किशोरीलाई घलेले मोटरसाइकलमा लिफ्ट दिएर गन्तव्यमा पुग्न नदिई आफ्नो टोखास्थित फ्ल्याटमा ल्याएका थिए। फ्ल्याटमा एक्लै बस्दै आएका घलेका परिवार अमेरिका बस्छन्।

उनले किशोरीलाई अमेरिका पठाइदिने भन्दै प्रलोभन दिएर बलात्कार गरेको खुलेको छ।