गार्ड थुनाउने मन्त्रीले भने- गार्डले गल्ती महसुस गरे, मैले छोड्न लगाएँ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गार्ड थुनाउने मन्त्रीले भने- गार्डले गल्ती महसुस गरे, मैले छोड्न लगाएँ



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डले गल्ती महसुस गरेको बताएका छन् । उनले गल्ती गरेको भन्दै गार्डलाई छाड्न आफूले गृह मन्त्रालयमा आग्रह गरेको बताएका छन्।

सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिव भीम राजवहाकले विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङले प्रहरीसमक्ष माफी मागेको बताए।

उनले प्रहरीसमक्ष गल्ती महशुस गरिसकेको भन्दै नियन्त्रणमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाणलाई आग्रह गरेका हुन्।

‘सामान्य पदीय मर्यादालाई समेत ख्याल नगरी सुरक्षा गार्ड गुरूङले मन्त्रीज्यू र सुरक्षाकर्मी समेतलाई अभद्र व्यवहार गरेको विषयलाई लिएर नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएकोमा उनले प्रहरी समक्ष गल्ती महशुस गरिसकेकोले नियन्त्रणमुक्त गरिदिन मन्त्रीज्यूले गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ,’ स्वकीय सचिव रावहाकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत शुक्रबार ठमेलस्थित छायासेन्टरको भिएफएसमा बायोमेट्रिक्सको कामले पुगेको बेलामा मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेका थिए। त्यसै विषयलाई लिएर उनीमाथि अभद्र व्यवहारको मुद्दामा पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप भएको थियो।

मन्त्री श्रेष्ठको आग्रहपछि गृह मन्त्री खाणले पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्‍याएर रिहा गर्न निर्देशन दिइसकेका छन्।

सुरक्षा गार्ड गुरूङले प्रहरीसमक्ष आफूले गल्ती गर्दै माफी मागेको हो वा होइन यकिन छैन। यसबारे प्रहरीले केही भनेको छैन। गुरूङ कार्यरत गरूड सक्युरिटिजले भने उनले गल्ती नगरेको भन्दै घटना भएको ठाउँ भिएफएसको सिसिटिभी देखाउन माग गरेको थियो। साथै गुरूङकी श्रीमतीले सर्वोच्चमा उनको रिहाइ माग गर्दै सोमबार दिउँसो बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन्। यसको पेशी मंगलबार तोकिएको छ।