मन्त्रीको निवास २ महिनादेखि होटलमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मन्त्रीको निवास २ महिनादेखि होटलमा



कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिना भन्दा धेरै भयो। सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित छ जना मन्त्रीहरु सरकारी निवासमै बस्छन्। प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटलमा बस्दै आएका छन्।

‘सुविधायुक्त’ सरकारी निवास नपाएपछि भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री अहिले पनि वीरेन्द्रनगरको राप्ती होटल एण्ड लजमा बस्ने गरेका छन्। खत्री प्रदेश सांसदमा निर्वाचित भएदेखि नै राप्ती होटलमा दुई वटा कोठा भाडामा लिएर बस्दै आएका खबर आजको नागरिक दैनिकले छापेको छ।

मन्त्री भएपछि पनि उनले त्यसैलाई निरन्तरता दिइरहेका छन्। राप्ती होटलको १०९ र ११० कोठामा उनी बस्दै आएका छन्। होटलमा मन्त्री खत्रीसहित पिएसओ, पिएलगायत बस्छन्। उनलाई भेट्न आउने र नजिकका मानिसहरु पनि होटलमा आउने गरेका छन्।

‘अहिले चार–पाँच जना हुन्छन्, कहिले १५–२० जना पनि हुन्छन्’ होटल सञ्चालक देवी बुढाले भनिन्, ‘हामीले बसेको दिनको मात्रै भाडा लिन्छौं, अरु बेलाको लिने गरेका छैनौं।’ अट्याच, बाथरुमसहितका दुई वटा कोठा मन्त्रीले भाडामा लिएको उनले बताइन्।

भौतिक पूर्वाधारमन्त्री खत्री तत्कालिन क्षेत्रीय सडक डिभिजन कार्यालयको आवासमा बस्न चाहेका छन्। कर्मचारीले आवास नछोडेकाले आफू होटलमा बस्नु परेको उनी बताउँछन्। भेरीगंगा नगरपालिकाको रामघाट स्थायी घर भएका खत्री यसअघि पनि वीरेन्द्रनगर आउँदा राप्ती होटलमै बस्ने गरेको उनी निटक बताउँछन्।

मन्त्री खत्रीले क्षेत्रीय सडकको आवास खाली भएपछि होटल छोडेर सरकारी निवासमा सर्ने बताए। ‘क्षेत्रीय सडकको आवास खाली गराउन पटक–पटक निर्देशन दिएको छु, आजका मितिसम्म खाली भएको छैन्’ उनले भने, ‘खाली भएपछि तयारी गरेर सर्नुपर्ला।’

सरकारका मन्त्री र सचिवहरुका लागि आवास व्यवस्थापनको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालयले मुख्यमन्त्री बाहेक सबै मन्त्रीहरुका लागि क्षेत्रीय सिंचाईका आवास प्रस्ताव गरेको थियो। त्यहाँ आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दबहादुर बुढा मात्रै बसेका छन्। अरु मन्त्रीहरु त्यहाँ बस्न अनिच्छुक देखिएपछि चार जना सचिवलाई मन्त्रीका लागि प्रस्ताव गरिएका ठाउँमा राखिएको छ।

‘तत्कालिन क्षेत्रीय प्रशासन निवासमा मुख्यमन्त्री र क्षेत्रीय सिंचाईको आवासमा छ जना मन्त्री राख्ने प्रस्ताव गरेका थियौं’ इन्जिनियर झंकबहादुर थापाले भने, ‘छ जना मन्त्रीका लागि प्रस्ताव गरिएको ठाउँमा दुई जना मात्रै बस्नु भएको छ, बाँकी चार जना सचिवलाई राखेका छौं।’

उनले क्षेत्रीय सडकको आवास खाली भएपछि भौतिक पूर्वाधार मन्त्रीका लागि व्यवस्था गरिने बताए। ‘केही दिनभित्रै क्षेत्रीय सडकको आवास खाली हुँदैन्, त्यहीँ ठाउँमा भौतिक पूर्वाधार मन्त्रीलाई राख्छौं’ उनले भने, ‘आवास खाली भएपछि रंगरोगन, कोर्पेटिङलगायतका काम सकेपछि मात्रै मन्त्री बस्न आउनुहुन्छ।’