डिग्रीको परीक्षा दिन वनमन्त्री बस्नेत भक्तपुर क्याम्पसमा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

डिग्रीको परीक्षा दिन वनमन्त्री बस्नेत भक्तपुर क्याम्पसमा



काठमाडौं- पूर्व गृहमन्त्री एवम् बहालवाला वनमन्त्री शक्ति बस्नेत यतिखेर डिग्री तहको अध्ययनमा व्यस्त छन् ।

मङ्गलवार भक्तपुर दुधपाटीको भक्तपुर बहूमुखी क्याम्पसमा राजनितीशास्त्र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षामा उनी सहभागी भएका छन् ।

२०७२ असोज २८ मा गृहमन्त्री बनेका बस्नेतले अहिले वन मन्त्रालय सम्हालेका छन् । वनमन्त्रालय सम्हालेका बस्नेत अध्यनमा पनि समय जुटाइरहेका छन् ।

उनले पछिल्लो समय विश्वविद्यालय पढाइलाई पनि महत्त्व दिइरहेका छन् ।

परीक्षा केन्द्र रहेको भक्तपुर क्याम्पसको प्राङ्गणमा मङ्गलवारको परीक्षा सकेपछि उनले अन्य सहभागीहरू सङ्ग परीक्षाको अनुभव समेत साटे ।

सामान्य विद्यार्थी शैलीमा प्राइभेट गाडी र दुई जना सादा पोसाकका सहकर्मीको साथमा बस्नेत परीक्षा केन्द्रमा भेटिएका थिए ।

कस्तो भयो तपाइको परीक्षा मन्त्री ज्यु ? एक परीक्षार्थीले उनलाई सोधे ।

उत्तरमा उनले भने “नेपाली राजनीतिमा केन्द्रित प्रश्न भएकाले सामान्य नै भयो, हामीले बोलिरहने विषयमै प्रश्न केन्द्रित थियो तर बोल्दा,भाषण गर्दा र लेख्दा फरक चाहिँ हुँदो रैछ ।”

मङ्गलवारको विषय घरेलु राजनीति र वैदेशिक सम्बन्ध थियो । उनीसँगै परीक्षा दिएका अर्का एक परीक्षार्थी तेजेन्द्र पाण्डेले मन्त्रीज्यु अर्को विषयको लागि शुभकामना छ है भन्दा अलि असजिलो मान्दै मन्त्री बस्नेतले भने, “म पनि तपाइहरू जस्तै परीक्षार्थी त हो नि त्यसैले मन्त्री हैन मित्र भन्नुस् ” ।