सर्वसाधारणबाट करोडौँ ठग्ने मेरिगोल्ड म्यानपावरलाई कारबाही - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सर्वसाधारणबाट करोडौँ ठग्ने मेरिगोल्ड म्यानपावरलाई कारबाही



काठमाडौं- सर्वसाधारण ठग्ने म्यानपावर कारबाहीमा परेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारण ठग्ने म्यानपावरलाई कारबाही गरेको हो ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै ३८ जनाबाट करिव दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा बुधबार मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार मेरिगोल्ड ओभरसिजका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको हो ।

आफूहरू वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए । मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेकाले उनीहरूविरुद्ध ठगी गरेको रु एक करोड ८६ लाख १५ हजार २०० र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।