मनोज गजुरेल चलचित्रमा डेब्यु गर्दै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मनोज गजुरेल चलचित्रमा डेब्यु गर्दै



काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले चलचित्रमा डेब्यु गर्ने भएका छन् । आफुलाई कमेडियन कार्यक्रमबाट स्रोता दर्शकमाझ लोकप्रियता जमाएका गजुरेलले अब फिल्ममा पनि  अभिनय गर्ने भएका हुन् । टेलिभिजनमा हास्य सो चलाए पनि गजुरेलले टिभी वा फिल्ममा अभिनय गरेका थिएनन्। टेलिभिजन र सार्वजनिक कार्यक्रममा दर्शकमाझ उभिएर हसाउन खप्पिस गजुरेल कमेडी फ्लेबरको फिल्म ‘सयकडा १०’मा ‘स्ट्यान्डअप कमेडियन’कै रुपमा देखिन लागेका हुन् । फिल्मको छायांकन सोमबारबाटै सुरु भएको छ।

‘फिल्ममा मेरो चरित्र एक कमेडियन एक्टिभिस्टको छ । जो स्ट्यान्डअप कमेडीमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय हुन्छ ।  केही समय अघि पारपाचुके गरेका गजुरेलले  भने फिल्मको यो चरित्र मेरो वास्तविक जीवनसँग पनि मेल खाने भएकाले क्यामराको अगाडि अभिनय गर्न तयार भएको हुँ ,’ उनले भने, ‘तर क्यामराको फ्रेममा आफूलाई अटाएर अभिनय गर्न निकै सकस पर्दोरहेछ ।’ सोमबार मुहुर्त गरे लगत्तै फिल्म छायांकनमा गएको थियो।

योग र ध्यानका अम्मली कलाकार गजुरेलले योग र ध्यानकै कारण अभिनय गर्न सजिलो भएको दाबी गरे । ‘मनका भावनालाई अनुहारमा कसरी देखाउने भन्ने कुरा मैले योग र ध्यानबाट सिकिसकेको छु ’ उनले भने ।मनोजलाई यसअघि पनि धेरै फिल्ममा अभिनयको अफर आएका थिए । तर उनी कुनै फिल्ममा पनि देखिएनन् । तर ‘सयकडा १०’ मा आफ्नो चरित्र वास्तविक जीवनसँग मिल्ने भएकाले पनि उनले अभिनयका लागि सहमति दिएको बताए।

फिल्मको निर्देशन रामशरण पाठकले गरिरहेका छन् । उनले यसअघि ‘ठेगाना’ र ‘प्रेमगीत २’ निर्देशन गरिसकेका छन् । पाठकले फिल्मले सदाचारको वकालत गर्ने बताए । ‘हामीले कमेडी फ्लेबरमा प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बन्धलाई देखाउनेछौं ’ पाठकले भने ।
फिल्ममा अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको अभिनय रहनेछ।

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत रहने फिल्म दर्शन नेपाल क्रिएसनको ब्यानरमा बनिरहेको छ। रज्जु प्रधान र उत्तम खत्रीको लगानी रहेको फिल्म काठमाडौं र पोखरामा छायांकन गरिनेछ।