मनाङको प्रदेश सभा 'ख' मा स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मनाङको प्रदेश सभा ‘ख’ मा स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी



मंसिर २२,लमजुङ– एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् ।  मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ (ख) मा २ हजार ४ सय ३६ मत खसेको थियो ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

हिमाली जिल्ला मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

यसैबीच कांग्रेस उम्मेदवार पूर्व राज्यमन्त्री समेत रहेका टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमालेका  पोल्देन छोपाङ गुरुङ मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
बिजयी पोल्देन छोपाङले २ हजार ३ सय मत पाए । प्रतिद्धन्द्धी टेकबहादुरले २ हजार २१ मत पाएका छन् । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको छ । नेपालमै सवैभन्दा कम मतदाता ५ हजार ८ सय ८१ रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।