डेढ महिना बन्द हुने भयो मनकामना केवलकार - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

डेढ महिना बन्द हुने भयो मनकामना केवलकार



काठमाडौँ- मनकामना केवलकार डेढ महिनासम्म बन्द हुने भएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै केबलकार बन्द हुने जनाएको छ ।

आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने बताइएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै कम्पनीले केबलकार बन्द गर्न लागेको जनाएको छ ।

विज्ञप्ति मार्फत मनकामना केवलकार प्रालिले एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ।

केबलकार स्तरोन्नतिका लागि अस्ट्रियाका प्राविधिक नेपाल आएको समेत कम्पनीले जनाएको छ। चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ।

नयाँ प्रविधिमा गएपछि मनकामना केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले दाबी गरेको छ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेस्टुरेन्ट भने चालु रहने छ।’