मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका



काठमाडौं ।।  मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षीय चित्रप्रसाद ढुंगेल मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको चन्द्रगिरि–१ बाट पक्राउ गरेको हो । दक्षिण अफ्रिकाबाट भागेर नेपाल फर्किएका तीनजना पीडितले उजुरी दिएपछि सिआइबीले ढुंगेललाई पक्राउ गरेको हो ।

सिआइबी प्रमुख डिआइजी पुस्कर कार्कीले ढुंगेल मानव तस्करको अभियोगमा पक्राउ परेको बताए । ‘दक्षिण अफ्रिकाबाट भागेर नेपाल आएका तीनजना पीडितले उजुरी दिएका आधारमा उनलाई पक्राउ गरेका हौँ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने ।

थुप्रै युवा दक्षिण अफ्रिका पुगेको आशंका
प्रहरीका अनुसार ढुंगेलले कन्सल्टेन्सीमार्फत अन्य युवालाई पनि दक्षिण अफ्रिका पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पीडितहरूले दिएका बयानका आधारमा दक्षिण अफ्रिकामा अरू पनि थुप्रै नेपाली दुःख पाएका अवस्थामा छन् । सबै ढुंगेलमार्फत पुगेको बयानबाट खुलेको छ,’ सिआइबीका प्रवक्ता एसपी श्रेष्ठले भने ।

दक्षिण अफ्रिकामा नेपाली कामदारका निम्ति श्रम स्वीकृति छैन । यद्यपि आकर्षक रोजगार पाइने लोभमा परी नेपाली युवा भारतको विभिन्न नाका हुँदै दक्षिण अफ्रिका पुग्ने गरेका छन् । ‘दक्षिण अफ्रिकामा नेपाली कामदारका लागि श्रम स्वीकृति लिइएको छैन । तर, पनि थुप्रै नेपाली युवा त्यहाँ गएको भेटिएको छ । तस्कारको प्रलोभनमा परी त्यहाँ पुगेको देखिन्छ,’ श्रेष्ठले भने ।

दक्षिण अफ्रिका जान सात लाख
प्रहरीका अनुसार पीडितहरू भारतको दिल्ली हुँदै रोजगारका क्रममा दक्षिण अफ्रिका पुगेका थिए । उनीहरूले कन्सल्टेन्सीलाई प्रतिव्यक्ति सात लाख बुझाएका थिए । हवाईजहाजमार्फत दक्षिण अफ्रिका पुगेका उनीहरूलाई विनापारिश्रमिक काममा लगाइएको थियो । पारिश्रमिक माग गर्दा कम्पनी मालिकले उल्टै मानसिक तथा शारीरिक यातना दिने गरेपछि तीन युवा भागेर नेपाल फर्केका थिए । पानीजहाजमार्फत भारत हुँदै नेपाल आएका उनीहरू तत्काल कन्सल्टेन्सी सञ्चालक ढुंगेलकहाँ पुगे । तर, ढुंगेलले उल्टै ज्यान मार्ने धम्की दिएपछि पीडितहरूले सिआइबीमा उजुरी दिएका थिए । सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले शारीरिक र मानसिक यातनापछि रोजगारीका लागि गएकाहरू नेपाल फर्किएको बताए ।