मोदीलाई ममता बेनर्जीको चेतावनी: मलाई कानुन नपढाउ - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

मोदीलाई ममता बेनर्जीको चेतावनी: मलाई कानुन नपढाउ



काठमाडौं- भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले कुनै पनि हालतमा आफूले बंगालमा ‘डिटेन्सन क्याम्प’ (हिरासत शिविर) बनाउन नदिने चेतावनी दिएकी छन्।

पूर्वोत्तर भारतको असम राज्यमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मोदी सरकारले ‘डिटेन्सन क्याम्प’ बनाउने तयारी गरेको भन्ने चर्चा चलिरहेको बेला ममताले यस्तो चेतावनी दिएकी हुन्।

सिलिगुडीबाट प्रकाशित हिमालय दर्पणका अनुसार नैहाटी उत्सव उद्घाटनको अवसरमा उनले देशमा सबै नागरिकका लागि कानुन बराबर हुनुपर्ने स्पष्ट पारिन्।

‘असममा भारतीय जनता पार्टीको राज्य सरकार छ, उनीहरूले त्यहाँ क्याम्प बनाउन सक्लान्, तर, पश्चिम बंगालमा त्यस्तो सपना नदेखे हुन्छ,’ ममताले चेतावनीयुक्त भाषामा भनिन्, ‘बरु म ज्यान दिन तयार छु, कुनै हालतमा त्यस्तो क्याम्प बंगालमा खडा हुन दिन्नँ।’

आफूलाई ऐन-कानुन नपढाउन आग्रह गर्दै उनले मोदीलाई भनिन्, ‘दिल्लीमा मोदीको राज छ, यहाँ हाम्रो छ। अतिवादी सोच ल्याएर मोदी सरकारले जनतालाई विभाजन गर्न खोजेको छ, त्यसप्रति सजक हुनैपर्छ।’ बंगालमा तृणमूल कङ्ग्रेसले सबै जाति, वर्गलाई समान अधिकार हुनुपर्छ भन्ने सिद्घान्त अपनाउँदै आएको उनको भनाइ छ ।‘ एउटा गरिबको जति अधिकार छ, उद्योगपतिलाई पनि उत्तिकै अधिकार छ, सबैलाई बराबरी हक दिलाउन हामी काम गरिरहेका छौं,’ उनले भनिन् ।

पछिल्लो समयमा असममा ‘डिटेन्सन क्याम्प’ बनाउने चर्चा चलिरहेको छ, जहाँ राज्यले कुनै आरोपमा विभिन्न व्यक्तिलाई राख्न सक्छ। केही समयअघि भारतको प्रतिपक्षी दल कङ्ग्रेसका सांसद राहुल गान्धीले असममा भारतीय जनता पार्टीको राज्य सरकारले क्याम्प बनाउन लागेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि हंगामा मच्चिएको थियो।

त्यसपछि मोदीले विपक्षी दलले गरेका गलत प्रचारबाजी भन्दै ती सब झुठा हुन् भनी प्रतिकार गरेका थिए। नागरिकता संशोधन ऐन (सिएए) र नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) को विरोध आन्दोलन चर्कदै गएपछि ममताको तृणमूल कङ्ग्रेस मोदी सरकारप्रति आक्रामक हुँदै आएको छ।

झन्, प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशबाट आएका मुसलमान आप्रवासीलाई जोगाउन तृणमूल कङ्ग्रेसले सिएए र एनआरसीको विरोध गरेको आरोप लगाएका थिए। त्यसपछि ममताले मोदी सरकारका हरेक क्रियाकलापको तीव्र विरोध गर्दै आएकी छन्।